काठमाडौं । रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांक अनुसार एकै वर्ष साढे २३ खर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ ।
यस्तो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्ष १९.२ प्रतिशतले बढेको छ । २०८३ असार महिनामा विप्रेषण आप्रवाह २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२५८१ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सब्ख्या ४ लाख ६ हजार ५१९ र पुन: श्रम स्वीकृति लिनेको सब्ख्या ३ लाख ८५ हजार ७८३ रहेको छ । अघिल्लो वर्ष यस्तो सब्ख्या क्रमश: ५ लाख ५ हजार ९५७ र ३ लाख ३३ हजार ३०९ रहेको थियो ।