काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित भएकाहरूका लागि राहत संकलन कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन अर्थ मन्त्रालयले ‘एकद्वार प्रणाली’ सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयद्वारा जारी सूचना अनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद तथा जिन्सी सहयोग गर्न चाहने परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृ निकाय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूले अब अर्थ मन्त्रालयको प्रत्यक्ष समन्वयमा मात्र राहत हस्तान्तरण गर्नुपर्नेछ ।
राहत संकलनको यो प्रक्रियालाई चुस्त बनाउन मन्त्रालयले विभिन्न क्षेत्रका लागि छुट्टाछुट्टै सम्पर्क व्यक्तिहरू समेत तोकेको छ ।
अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघ संस्थाहरूका तर्फबाट हुने सहयोगका लागि सहसचिव अमृत लम्साललाई ९८५११८३००१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
त्यसैगरी, निजी क्षेत्र र सहयोगी व्यक्तिहरूले समन्वयका लागि अर्थमन्त्रीको सचिवालयका पदाधिकारीहरूसँग सम्पर्क गर्नुपर्नेछ । जसका लागि प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानालाई ९८४१९७९०७५, निजी सचिव कञ्चन बस्नेतलाई ९८४९१९७१११, स्वकीय सचिव खोमनाथ अधिकारीलाई ९८५१३५४३४४ र शाखा अधिकृत माधव भण्डारीलाई ९८५१२०६२०१ मा सम्पर्क गर्न सकिनेछ ।