काठमाडौं । भिभोले नेपाली बजारमा नयाँ बजेटमैत्री स्मार्टफोन भिभो वाई ०५ई सार्वजनिक गरेको छ ।
कम्पनीले दैनिक प्रयोगलाई लक्षित गर्दै भरपर्दो कार्यसम्पादन, टिकाउ डिजाइन र सहज प्रयोगको अनुभवलाई प्राथमिकता दिँदै यो स्मार्टफोन ल्याएको जनाएको छ ।
भिभो वाई ०५ईमा ५,१५० एमएएच क्षमताको ब्याट्री राखिएको छ । कम्पनीका अनुसार अत्याधुनिक ब्याट्री प्रविधिका कारण यसको ब्याट्री हेल्थ चार वर्षसम्म कायम रहनेछ ।
यसले कल, इन्टरनेट ब्राउजिङ, भिडियो हेर्ने लगायतका दैनिक कामका लागि लामो समयसम्म ब्याट्री ब्याकअप दिने दाबी गरिएको छ ।
स्मार्टफोनमा आईपी६४ रेटिङ उपलब्ध छ, जसले धुलो तथा हल्का पानीका छिटाबाट सुरक्षा प्रदान गर्छ ।
त्यस्तै, एन्टी–ड्रप डिजाइनका कारण सामान्य ठक्कर तथा आकस्मिक रूपमा खस्दा फोनलाई थप सुरक्षित राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
वाई ०५ई ओरिजिन ओएस ६ मा आधारित छ । यसमा ५७० निट्ससम्मको ब्राइटनेस रहेको छ, जसले बाहिरी उज्यालो वातावरणमा पनि स्क्रिन हेर्न सहज बनाउनेछ ।
मनोरञ्जनका लागि स्मार्टफोनमा २०० प्रतिशत भोल्युम बूस्ट सुविधा समेत दिइएको छ । भिभो वाई ०५ई ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य कम्पनीले १९ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीका अनुसार स्मार्टफोन आजैदेखि नेपालभरका आधिकारिक भिभो रिटेल स्टोर तथा दाराजमार्फत खरिद गर्न सकिनेछ । किफायती मूल्यमा लामो ब्याट्री ब्याकअप, टिकाउ डिजाइन र दैनिक प्रयोगका लागि आवश्यक सुविधाहरू खोज्ने उपभोक्तालाई लक्षित गर्दै वाई ०५ई बजारमा ल्याइएको हो ।