काठमाडौं । चीनतर्फ बाढीका कारण बनेको ताल फुट्न थालेको सूचना आएपछि रसुवाको भोटेकोशी र आसपासका क्षेत्रमा थप जोखिमको आकलन गर्न हेलिकोप्टरबाट रेकी (हवाई निरीक्षण) गर्ने तयारी गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) का एक अधिकारीका अनुसार धुन्चे र रसुवाका विभिन्न स्थानमा यसअघि नै रहेका हेलिकोप्टरलाई रेकीका लागि परिचालन गरिने भएको छ ।
‘चीनतर्फ ताल फुटेको जानकारी आएको छ। त्यसैले धुन्चे र रसुवामा रहेका हेलिकोप्टरलाई रेकीका लागि पठाउने तयारी छ,’आरसीसीका ती अधिकारीले भने।
उनका अनुसार बाढीपछि उद्धार उडानमा आवश्यक समन्वय प्रभावकारी हुन नसकेको गुनासो आएपछि शुक्रबार विमानस्थलस्थित आरसीसीबाट हेलिकोप्टर उद्धार तथा राहत उडानको समन्वयलाई थप व्यवस्थित गरिएको छ।
अहिलेको उद्धार उडानको समन्वय कानुनमन्त्री सोविता गौतमको संयोजनमा भइरहेको ती अधिकारीले बताए। यसअघि बिहीबार नेपाली सेनाको ११ बाहिनीका कर्णेलको नेतृत्वमा आरसीसी सञ्चालन गरिएको थियो।

बाढी आएको बुधबार बिहान गृह मन्त्रालयका उपसचिवले आरसीसीको समन्वय सम्हालेका थिए भने बुधबार साँझदेखि गृह मन्त्रालयका सहसचिवले त्यसको जिम्मेवारी लिएका थिए।
आरसीसीमा हेलिकोप्टर सञ्चालक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र मौसमसम्बन्धी निकायका प्रतिनिधि रहने व्यवस्था छ। विपद्का बेला विशेषगरी हवाई उद्धार तथा राहत उडानको समन्वयमा आरसीसी सक्रिय हुने गरेको छ।