काठमाडौं । जापानमा आयोजना हुने एसियाली खेलकुदमा भारतले क्रिकेटको मुख्य टोलीको सट्टा दोस्रो टोली पठाउने तयारी गरेको बताइएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई उदृत गर्दै जापानमा खेलाडीका लागि उपलब्ध आवास तथा खेल पूर्वाधारप्रति बोर्ड सन्तुष्ट नभएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
एसियाली खेलकुदमा क्रिकेटका खेल सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म सञ्चालन हुनेछन् । भारतले यसअघि पुरुष र महिला दुवै टोली घोषणा गरिसकेको भए पनि अहिले टोलीमा परिवर्तन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।
खेलाडी बस्ने होटलका कोठा निकै साना रहेको र दुई खेलाडीले खेल सामग्रीको झोला खोलेपछि हिँडडुल गर्नसमेत कठिन हुने अवस्था रहेको बताइएको छ । त्यस्तै, खेलाडीका लागि छुट्टै खेलाडी भिलेज निर्माण नगरिएकाले मैदानबाट करिब २० किलोमिटर टाढा होटलको व्यवस्था गरिएको छ ।
क्रिकेटका खेलका लागि छनोट गरिएको कोरोगी खेलकुद पार्क यसअघि बेसबल मैदानका रूपमा प्रयोग हुँदै आएको थियो । हालै मात्र क्रिकेट मैदानमा रूपान्तरण गरिएको उक्त मैदानको खेलपट्टी र मैदानको अवस्था अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त परीक्षण नभएको बताइएको छ ।

यसैगरी खेलाडीका लागि बनाइएको विश्रामस्थल स्थायी भवनमा नभई पालमा रहेको र शौचालय करिब पाँच सय मिटर टाढा रहेको जनाइएको छ । यी व्यवस्थाप्रति पाकिस्तान क्रिकेट बोर्डले समेत चिन्ता व्यक्त गरेको छ ।
सुविधा र खेलपट्टीको अवस्थाबारे प्रश्न उठेपछि एसियाली क्रिकेट परिषद्ले प्राविधिक टोली जापान पठाउने निर्णय गरेको छ । टोलीले मैदान, अभ्यासस्थल तथा होटलको व्यवस्थाको निरीक्षण गर्नेछ ।
एसियाली खेलकुदमा क्रिकेट चौथोपटक समावेश हुँदैछ । सन् २०१० मा चीनको क्वाङ्चौमा पहिलोपटक क्रिकेट समावेश गरिएको थियो । त्यसपछि सन् २०१४ को इन्चोन खेलकुदमा पनि क्रिकेट समावेश भयो । सन् २०१८ मा हटाइएको क्रिकेट सन् २०२२ को हाङ्चौ खेलकुदमा पुनः समावेश गरिएको थियो, जहाँ भारत विजेता बनेको थियो । आगामी जापान खेलकुदमा क्रिकेट चौथोपटक समावेश हुन लागेको हो ।
एशियाली खेलकुदमा पुरुषतर्फ १० र महिलातर्फ ८ देशले भाग लिदैछन् । जसमा पुरुषतर्फ अफगानिस्तान, बंगलादेश, हङकङ, भारत, जापान, मलेसिया, नेपाल, ओमान, पाकिस्तान, श्रीलंका र थाइल्याण्ड रहेका छन् । त्यस्तै महिलातर्फ बंगलादेश, चीन, भारत, जापान, मलेसिया, पाकिस्तान, श्रीलंका र थाइल्याण्ड रहेका छन् ।