काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ । बागमती प्रदेशका केही, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा कोशी, मधेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कर्णाली प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै, आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई तथा बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।