काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवन प्रभावित भइरहेकाले उक्त सहयोग गरेको जनाएको छ।
विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोज, उद्धार, राहत तथा पुन:स्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम उपलब्ध गराइएको बैंकले जनाएको छ।
एनआईएमबीले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।