धनगढी । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ रुपैयाँ सहयोग गरेको छ।
नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर अफ कमर्स, धनगढी चेम्बर अफ कमर्स र गोदावरी चेम्बर अफ कमर्सले संयुक्त रूपमा उक्त रकम कोषमा जम्मा गरेका हुन्।
बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको चेम्बरले जनाएको छ।
चेम्बरले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुन:स्थापनाका लागि सरोकारवाला निकाय, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेको छ।
बाढी प्रभावित नागरिकलाई शीघ्र सामान्य जनजीवनमा फर्काउन उद्धार, राहत तथा पुन:स्थापनाका कार्यक्रम प्रभावकारी बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग समेत चेम्बरले माग गरेको छ।

