काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना तथा सञ्चार सम्पर्कलाई थप सहज बनाउन २० थान स्याटेलाइट फोन उपलब्ध गराइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका स्याटेलाइट फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो ।
उपलब्ध गराइएका फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ । यी स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म नि:शुल्क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
सामान्य दूरसञ्चार नेटवर्कको पहुँच नपुग्ने दुर्गम तथा प्रभावित क्षेत्रमा समेत स्याटेलाइटमार्फत फोन र एसएमएस सेवा सञ्चालन गर्न सकिने भएकाले विपद्का बेला यसको प्रयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार, राहत तथा समन्वयमा समस्या हुने भएकाले स्याटेलाइट फोनको प्रयोगले उद्धार टोली, सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच तत्काल सूचना आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

विपद्का समयमा अत्यन्त उपयोगी मानिने स्याटेलाइट फोन प्रविधि महँगोसमेत हुने भएकाले आईटीयूबाट प्राप्त सहयोगले बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सञ्चार प्रणालीलाई थप मजबुत बनाउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।