हेटौँडा । धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौँतर्फ यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक निजी सवारी लिएर यात्रा नगर्न आग्रह गरेको छ ।
व्यवसायिक सवारीका लागि मालवाहक सवारीसाधन कान्ति लोकपथ हुँदै काठमाडौँ जाने, १४ सिटभन्दा बढी क्षमताका यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने र सोही मार्गबाट फर्कने र १४ सिटसम्मका यात्रुवाहक सवारीसाधन भीमफेदी–देउराली हुँदै काठमाडौँ जाने तथा आउने गरी तोकिएको छ ।
प्रशासनले सबै राजमार्गमा चालकलाई धैर्य र अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।
सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन चालक, यातायात व्यवसायी तथा यात्रुलाई तोकिएको व्यवस्था पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।