काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- परराष्ट्रमन्त्री शिशिर खनालले क्यानडाका विदेशमन्त्री अनिता आनन्दसँग टेलिफोन वार्ता गरेका छन् । आज भएको वार्तामा दुई देशका विदेशमन्त्रीबीच नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिबारे छलफल भएको छ । विदेशमन्त्री आनन्दले दुःखको यस घडीमा नेपाली जनताप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेकी छन् । परराष्ट्रमन्त्री खनालले क्यानडा सरकारले उपलब्ध गराएको ५० लाख क्यानाडेली डलर अर्थात ५४ करोड ७३ लाख नेपाली रुपैयाँ सहयोग तथा संयुक्त कोषमार्फत थप १० करोड क्यानाडेली डलर अर्थात् करिब ११ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिबद्धताप्रति आभार व्यक्त गरेका छन् । उनले बाढीबाट प्रभावित तथा बेपत्ता क्यानाडेली नागरिकसहित सबैको खोजी, उद्धार र राहतका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिएका छन् ।
२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता भएको छ । मंगलबार लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटवार्तामा राजदूत माओमिङले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै चीन नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न तयार रहेको बताएका छन् । उनले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालको साथमा रहने सन्देश दिएका छन् । विपद्पछि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराइरहेको र आवश्यकता रहेसम्म सहयोग जारी राख्ने जानकारी राजदूतले दिएका छन् । सो भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विपद्पूर्व सूचना प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाउन तथा दुई देशबीच थप समन्वय गर्न आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ । राजदूत माओमिङले पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन चीन प्रतिबद्ध रहेको बताएका छन् ।
३- सरकारले त्रिभुवन विश्वविद्यालयसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा रजिस्ट्रार नियुक्त गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा डा पन्ना थापा, पोखरा विश्वविद्यालयमा प्रा डा निर्मला जमरकट्टेल, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा डा तारादत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा सहप्राध्यापक डा. सुदीप ठकुरी र राजर्षि जनक विश्वविद्यालयमा डा. जीवन काफ्ले रजिस्ट्रार नियुक्त भएका छन् । यसैगरी, त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा अञ्जना महर्जन सिंह नियुक्त भएकी छन् ।
नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा विकासका लागि प्रभावकारी समन्वय र सहकार्यका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन् । उनले उच्च शिक्षा सुधार, शैक्षिक गुणस्तर र अनुसन्धानमा विश्वविद्यालयलाई अघि बढाउन उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन् ।

४- पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई थप एकान्त कारावासमा नराख्न आदेश दिएको छ । इस्लामाबाद उच्च अदालतले रावलपिन्डीस्थित अडियाला कारागार प्रशासनलाई कारागार नियमअनुसार इमरान खान र बुशरा बीबीबीच भेटको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । अदालतले खानका परिवारका सदस्यलाई कारागार नियमअनुसार भेट्न दिन तथा उनका छोराहरूसँग टेलिफोनमार्फत कुराकानीको व्यवस्था गर्नसमेत आदेश दिएको छ । साथै, उनलाई दैनिक पत्रपत्रिका र पुस्तक उपलब्ध गराउन तथा कारागार नियमअनुसार आवश्यक स्वास्थ्य उपचार सुनिश्चित गर्न निर्देशन दिइएको छ । ७३ वर्षीय इमरान खान सन् २०२३ को अगस्टदेखि जेलमा छन् । भ्रष्टाचारलगायत मुद्दामा उनी लामो कारावास सजाय भोगिरहेका छन् ।
उनकी पत्नी बुशरा बीबी पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा सजाय पाएपछि अडियाला कारागारमा रहेकी छन् । इमरान खानकी बहिनी अलीमा खानले उनलाई एकान्त कारावासमा राखिएको भन्दै अदालतमा निवेदन दिएकी थिइन् । बुशरा बीबीकी छोरी मुबाशेरा खावर मानेकाले पनि आमाको अवस्थाबारे छुट्टै निवेदन दिएकी थिइन् । अदालतले अडियाला कारागारका प्रमुखलाई आदेश कार्यान्वयन गरी १५ दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको छ । यसैबीच, इमरान खानको स्वास्थ्यलाई लिएर विवादसमेत जारी छ । सर्वोच्च अदालतले उनलाई उपचारका लागि निजी अस्पतालमा भर्ना गर्न आदेश दिएको भए पनि सुरक्षा कारण देखाउँदै उनलाई सरकारी अस्पताल लगिएको र पछि पुनः अडियाला कारागार फर्काइएको थियो । यस विषयमा खानको परिवारले अदालतमा अवहेलना निवेदन दिएको छ । उक्त निवेदनमा सेप्टेम्बर १६ मा सुनुवाइ हुने तय भएको छ ।
५- कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसहित दुई जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर कार्कीले संरचनाको विश्लेषणसम्बन्धी काम स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले कार्की र घुस रकम लिने मध्यस्थको भूमिकामा रहेकी आस्मा कार्कीलाई ६४ हजार रुपैयाँसहित सोमबार कागेश्वरी मनोहरा नगरपालिका कार्यालय, थली डाँछीबाट नियन्त्रणमा लिएको बताएको छ । उनीहरूमाथि घुससम्बन्धी मुद्दामा विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।
६- आन्तरिक राजस्व विभागले रसुवा, नुवाकोट, धादिङलगायतका स्थानमा गएको बाढीपहिरोका कारण आज भदौ १६ गते हुने करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा स्थगित गरेको छ । विभागका अनुसार स्थगित कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट आगामी असोज १ गते गरिनेछ। उक्त दिन भदौ महिनाभरका खरिद बीजकका कुपनबाट दैनिक तथा बम्पर उपहारका विजेता छनोट गरिने विभागले जनाएको छ । बजेटमार्फत घोषणा गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत प्रत्येक १५ दिनमा चिठ्ठा खोलिँदै आएको थियो । बिल–बीजक लिने संस्कृतिको विकास गर्ने र उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो । सरकारले साउन महिनामा दुईपटक चिठ्ठा खोलेको थियो । त्यसबाट दुई जनाले १० लाख रुपैयाँका दरले बम्पर पुरस्कार तथा ३० जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका थिए । २५ प्रतिशत आकस्मिक लाभकर कटौतीपछि बम्पर विजेताले जनही ७ लाख ५० हजार रुपैयाँ तथा अन्य विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गरेका थिए ।
७- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा ३८ जना, नुवाकोटमा १ सय ५१ जना, धादिङमा ५७ जना, चितवनमा ३२१ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २१६ जना, नवलपरासी पश्चिम १६५ जना र भारतमा ५ जना गरी १ हजार ५६ जनाको शव फेला परेको हो । फेला परेको शवहरू मध्ये ९७२ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ५८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । त्यस्तै, फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १२१ महिला, १९८ पुरूष र ३६५ नखुलेको गरी जम्मा ६८४ वटा शव व्यवस्थापन (माटो मुनि गाडिएको) गरिएको र पहिचान नभएको ८६९ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको जानकारी प्रहरीले दिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको, बाढी प्रभावित क्षेत्रहरूबाट ४ हजार ५३० जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ६०६ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ४५३ जना व्यक्तिहरूलाई राखिएको छ । जसमध्ये नुवाकोटमा २ हजार ४६६ जना, धादिङमा २६० जना, रसुवामा ३९८ जना र काठमाडौंमा ३२९ जना रहेका छन् । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ ।
८- नेप्सेमा आज वृद्धि आएको छ । आज मंगलबार नेप्से ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका ७६ लाख १३ हजार ६८१ कित्ता शेयर २ अर्ब ९० करोड ६९ लाख ४३ हजार ६३३ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी माथिल्लो मैलुंग खोला जलविद्युतको शेयर ७.१५ प्रतिशतले बढेको छ भने एमबीएल इक्विटीको शेयर ५.८८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकर लघुवित्तको शेयर ८.४८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको १३ करोड ८२ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको १३ करोड ६३ लाख बराबरको कारोबार भएको छ ।
९- भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिमा १५ वटा बीमा कम्पनीमा गरी २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म प्राप्त विवरणमा ५८३ वटा बीमा दाबी परेको हो । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै दाबी दि ओरिएन्टल इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा ८ वटा दाबीबाट १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ । यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीबाट ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार, सानिमा जिआईसीमा १०२ वटा दाबीबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँको दाबी परेको छ । बीमालेखको प्रकारअनुसार सबैभन्दा ठूलो दाबी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा परेको छ । यसअन्तर्गत ५२ वटा दाबीबाट २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ । त्यस्तै, सम्पत्ति बीमामा ११३ वटा दाबीबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार, मोटर बीमामा ३१३ वटा दाबीबाट १ अर्ब ५५ करोड ९ लाख ३९ हजार र परिवहन बीमामा ४७ वटा दाबीबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँको दाबी परेको प्राधिकरणले जानकारी दिएको छ ।
१०- नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीमा २४ जनाको शव फेला परेको घर बच्चुराम अवस्थीको भएको खुलेको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम शव खोजी रहेको अवस्थामा प्रहरीको ड्रोनले एक शव देखेपछि सो घरमा पुगेको थियो । ड्रोनको क्यामेरामा कैद भएको विवरणको आधारमा प्रहरीको उद्दार तथा खोज टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो । उक्त शव फेला परेको स्थान विदुर नगरपालिका-१० बेत्रावती स्थित बच्चुराम अवस्थीको घर भएको खुलेको छ । घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलोले घेरेका कारण देखिएको शव सम्म पुग्न निकै नै कठिन भएको र नजिकै भग्नावशेषबाट प्रहरीले जस्ताको पाता, काठ, डोरी लगायतको सामाग्री एकजुट गरेर दलदले हिलो माथि उक्त सामाग्रीहरू प्रयोग गरी प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोली शव भएको उक्त घर सम्म पुग्न सफल भएका थिए । उक्त घरमा प्रवेश गरे पछि फेला परेको शव नजिक थप शव हुनसक्ने आशंकामा खोजी गर्ने क्रममा अन्य २३ वटा शव समेत फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शव मध्ये १ बालिका, ११ वटा पुरूष र १२ वटा महिलाको शव रहेको प्रहरीले जनाएको छ ।
११- राष्ट्रिय सभाबाट भोटेकोशी बाढी सम्बन्धि विशेष प्रस्ताव पारित भएको छ । मंगलबार बसेको सभामा राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्तुत गरेको विशेष प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले श्रद्धान्जली अर्पण गरिएको छ भने शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइएको छ भने घाइतेहरूको निशु:ल्क उपचार गराउन आग्रह गरिएको छ । साथै शवको वैज्ञानिक रुपमा व्यवस्थापन गर्न सरकारलाई आग्रह गरिएको छ । साथै भौतिक संरचनाको पुर्ननिर्माणका लागि तहगत सरकारहरूबीच समन्वय गर्न आग्रह गर्दै स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तराष्ट्रियलाई सहयोगका लागि अपिल गरिएको छ । त्यस्तै, प्रस्तावमा विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न र भविष्यमा आउन सक्ने यस्ता विपद्को पूर्वतयारीको काम अघि बढाउन सरकारलाई आग्रह गरिएको छ । यसअघि बैठकमा शुन्य समयमा सरकारले राहत र उद्धारमा ध्यान नदिएको भन्दै स्थानीय तहको समन्यवमा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
१२- चीनले बाढी तथा पहिरोमा मृत्यु भएकाहरूको शव पहिचानका लागि नेपालमा डीएनए पहिचान विज्ञ पठाउने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा नेपाललाई तत्काल आवश्यक पर्ने डीएनए परीक्षण उपकरण, ड्रोन, पानी शुद्धीकरण उपकरणलगायत सामग्रीसमेत पठाउने जानकारी दिएका छन् ।बाढीपछि नदीमा धेरै दिन बितेका शवको अवस्था बिग्रिएका कारण पहिचान गर्न कठिन भइरहेको छ । यस्तो अवस्थामा शवको पहिचान नेपालका लागि ठूलो चुनौती बनेको छ ।
१३- राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको तस्बिर र भिडियो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न आग्रह गरेको छ । परिषद्ले उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउने क्रममा खिचिएका बालबालिकाका तस्बिर तथा भिडियो फेसबुक, म्यासेन्जर, युट्युब, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा पोस्ट वा प्रसारण नगर्न अपिल गरेको हो । बालबालिकाको गोपनीयता, मर्यादा र अधिकारको सम्मान गर्दै उनीहरूको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न परिषद्ले व्यक्ति तथा सम्बन्धित सबै संघसंस्थालाई आग्रह गरेको छ ।
१४- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। भदौ १६ गते बिहान ११ बजेसम्म नेपाली सेनाले हवाई माध्यमबाट २३ जनाको उद्धार गरेको जनाएको छ । सुरुङ उद्धारतर्फ चिलिमे जलविद्युत् आयोजनामा संयुक्त टोलीले करिब ५० मिटर, लाङटाङ जलविद्युतमा १५० मिटर र माथिल्लो त्रिशूली–१ मा करिब २०० मिटरसम्म सुरुङभित्र प्रवेश गरी खोजी गरेको छ । त्रिशूली–३ ‘ए’ मा सुरुङको प्रवेशस्थल फेला पारेर पानी निकाल्ने तथा हावा पठाउने काम भइरहेको छ। तीनवटा डोजर प्रयोग गरी वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ भने सुरुङभित्र प्रवेश गर्ने स्थान बनाउन ढुंगा फुटाउने काम भइरहेको छ।
त्रिशूली–३ ‘बी’ मा पनि प्रवेशद्वार पत्ता लगाएर डोजरमार्फत खन्ने काम भइरहेको छ । बाढीपछि तत्काल उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २०० भन्दा बढी जनशक्ति परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् । यसैगरी प्रभावित क्षेत्रमा सरसफाइ तथा संक्रमण रोकथामका लागि धुन्चे, त्रिशूली, देवघाट, परासीस्थित पृथ्वीचन्द्र अस्पताललगायतका क्षेत्रमा निसंक्रमणको काम गरिएको सेनाले जनाएको छ । बाँकी क्षेत्रमा स्थानीय तहसँगको समन्वयमा काम अघि बढाइने बताइएको छ ।
१५- भारतीय र्यापर गायक बादशाहले ईशा रिखीसँग विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद भएको पुष्टि गरेका छन् । उनीहरूले यसै वर्ष मार्चमा विवाह गरेका थिए । विवाह भएको करिब तीन महिनापछि नै उनीहरूबीच सम्बन्धमा समस्या आएको खबर सार्वजनिक भएको थियो । बादशाहले सामाजिक सञ्जालमार्फत आफू र ईशा रिखीले आपसी सहमतिमा अलग हुने निर्णय गरेको बताएका छन् । उनले लेखेका छन्- ‘मैले र ईशा रिखीले आपसी सहमतिमा अलग हुने र आ-आफ्नो बाटोमा अघि बढ्ने निर्णय गरेका छौँ । यो निर्णय आपसी सम्मानका साथ लिइएको हो । यस समयमा हाम्रो गोपनीयताको सम्मान गरिदिन सबैसँग आग्रह गर्दछौँ ।’ उनले आफूहरूको सम्बन्धबारे थप अड्कलबाजी नगर्न पनि आग्रह गरेका छन् ।
साथै, यस विषयमा यही नै उनीहरूको अन्तिम भनाइ हुने बताएका छन् । बादशाहले यसअघि सन् २०१२ मा जैस्मिन मसीहसँग विवाह गरेका थिए । उनीहरूबाट सन् २०१७ मा छोरी जन्मिएकी थिइन् । दुवैबीच सन् २०२० मा सम्बन्धविच्छेद भएको थियो । बादशाह र ईशा रिखीको पहिलो भेट एक साथीको पार्टीमा भएको थियो । त्यसपछि उनीहरूबीच नजिकिँदै गएर प्रेम सम्बन्ध सुरु भएको थियो । दुवैले लामो समयसम्म आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिएनन् । सन् २०२३ मा उनीहरूको विवाहको हल्ला चले पनि बादशाहले त्यसलाई अस्वीकार गरेका थिए । बादशाह बलिवुडसहितको संगीत क्षेत्रमा चर्चित छन् भने ईशा रिखी मोडल तथा अभिनेत्री हुन् । चण्डीगढमा जन्मिएकी ईशाले पञ्जाबी चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।
१६- नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन् । घिसिङका अनुसार भदौ १४ गते आफूले टिमुरे, रसुवागढी सुरुङ र चिलिमे सुरुङको स्थलगत निरीक्षण गरी धुन्चेमा सुरक्षा निकायसँग छलफल गरेका थिए । त्यसपछि भदौ १५ गते नेपाली सेनाको टोलीले रसुवागढीको पावर हाउसतर्फ जाने पहुँच सुरुङभित्र करिब २५० मिटर प्रवेश गरेको उनले बताएका छन् । तर सुरुङभित्र मानिस नभेटिएको समाचार आएको भन्दै घिसिङले कर्मचारीहरू पावर हाउसको नियन्त्रण कक्षमा रहने भएकाले अब पावर हाउससम्म प्रवेश गर्ने उपाय खोजेर त्यहाँ फसेका कर्मचारीको तत्काल उद्धार गर्नुपर्ने बताएका छन् ।
१७- नेपाल-चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ । लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेपछि चिनियाँ पक्षले आयात-निर्यात रोक्ने निर्णय गरेको हो । पहिरोको जोखिम स्थिर भएपछि मात्र नाका खोलिने जनाइएको छ । यसअघि पनि पहिरोका कारण तातोपानी नाका करिब तीन साता बन्द भएको थियो । पछिल्लो बाढीले रसुवागढी नाकाको टिमुरे बजारसमेत क्षतिग्रस्त बनाएपछि नेपाल–चीन व्यापारमा थप समस्या देखिएको छ । नाका बन्द भएपछि दसैंका लागि चीनबाट सामान ल्याउने व्यवसायीले कोरला नाका वा समुद्री मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ । लामो समय दुवै प्रमुख नाका बन्द हुँदा व्यापार तथा राजस्व संकलनमा ठूलो असर पर्ने देखिएको छ ।
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रतिको जनसमर्थन उनको राजनीतिक जीवनकै न्यून विन्दुमा पुगेको छ । इरानसँगको युद्ध र रिपब्लिकन पार्टीले सम्हालेको आर्थिक अवस्थाप्रति व्यापक असन्तुष्टि बढेसँगै मतदाताको झुकाव डेमोक्र्याटिक पार्टीतर्फ देखिएको रोयटर्स र इप्सोसको सर्वेक्षणले देखाएको छ । सार्वजनिक सर्वेक्षणअनुसार ह्वाइट हाउसमा ट्रम्पले गरिरहेको कामलाई ३३ प्रतिशत अमेरिकीले मात्र अनुमोदन गरेका छन् । लगातार तेस्रो रोयटर्स-इप्सोस सर्वेक्षणमा ट्रम्पको समर्थन ३३ प्रतिशतमा सीमित भएको हो । ट्रम्पप्रतिको घट्दो जनसमर्थन आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीका लागि चुनौती बन्न सक्ने देखिएको छ । निर्वाचनमा रिपब्लिकन पार्टीले संसदमा आफ्नो झिनो बहुमत जोगाउनुपर्नेछ ।
सर्वेक्षणमा आफूलाई डेमोक्र्याट बताउने ४६ प्रतिशतले नोभेम्बरको निर्वाचनमा मतदान गर्न आफूहरू ‘अत्यन्त उत्साहित’ रहेको बताएका छन् । रिपब्लिकनमध्ये यस्तो धारणा राख्नेको संख्या ३१ प्रतिशत मात्रै छ । संसदीय निर्वाचन आजै भएको अवस्थामा कुन पार्टीलाई मतदान गर्नुहुन्छ भन्ने प्रश्नमा ३६ प्रतिशत स्वतन्त्र मतदाताले डेमोक्र्याटिक पार्टी रोजेका छन् भने २२ प्रतिशतले रिपब्लिकन पार्टी रोजेका छन् । देशभरका १ हजार १६७ जना वयस्क सहभागी रहेको चारदिने सर्वेक्षण गरिएको थियो । अगस्टको मध्यदेखि ट्रम्पको जनसमर्थन उनको पहिलो कार्यकालको सुरुवाती समयमा छोटो समयका लागि देखिएको स्तरमा झरेको छ । उनको वर्तमान कार्यकालको सुरुवाती चरणमा भने ४७ प्रतिशत अमेरिकीले उनको कार्यसम्पादन अनुमोदन गरेका थिए । ट्रम्पको वर्तमान समर्थन दर उनका पूर्ववर्ती राष्ट्रपति तथा डेमोक्र्याटिक नेता जो बाइडेनको कार्यकालमा देखिएको न्यूनतम दरभन्दा पनि कम हो ।
बाइडेनको समर्थन दर सन् २०२४ को अक्टोबरमा ३५ प्रतिशतसम्म झरेको थियो । बाइडेनजस्तै ट्रम्प पनि बढ्दो महँगीका कारण जनअसन्तुष्टिको सामना गरिरहेका छन् । फेब्रुअरीमा ट्रम्पले इरानमाथि अमेरिकी बमबारी सुरु गर्न आदेश दिएपछि पेट्रोलको मूल्य बढेको छ । सर्वेक्षणअनुसार इरानसँगको युद्धलाई समर्थन गर्ने अमेरिकीको संख्या ३६ प्रतिशत मात्रै छ । युद्धका क्रममा लामो समयसम्म तनाव केही कम भए पनि पछिल्ला दिनमा अमेरिका र इरानबीच क्षेप्यास्त्र आक्रमण भएका छन् । युद्ध सुरु भएयता इरानले विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण पारवहन मार्गमा ठूलो अवरोध सिर्जना गरेको छ । जीवनयापनको बढ्दो लागत व्यवस्थापन गर्ने ट्रम्पको नीतिप्रति ७१ प्रतिशत अमेरिकी असन्तुष्ट छन् । असन्तुष्ट हुनेमा रिपब्लिकन पार्टीका करिब ४० प्रतिशत समर्थकसमेत छन् । पछिल्लो एक महिनादेखि सर्वेक्षणमा सहभागी दर्ता भएका मतदाताले अर्थतन्त्रका विषयमा रिपब्लिकन पार्टीको तुलनामा डेमोक्र्याटिक पार्टीसँग राम्रो योजना रहेको बताएका छन् । करिब एक दशकपछि पहिलोपटक अर्थतन्त्रको विषयमा डेमोक्र्याटिक पार्टीले रिपब्लिकन पार्टीलाई उछिनेको हो । यस सर्वेक्षणको त्रुटिको सम्भावित सीमा दुवैतर्फ तीन प्रतिशत रहेको बताइएको छ ।
१९- पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ । कार्यदलले बाढीबाट प्रभावित क्षेत्रमा सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्यलगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ । सम्बन्धित सरोकारवाला निकाय तथा संस्थालाई परिचालन गरी कामको नियमित अनुगमन र प्रतिवेदनसमेत तयार गरिने मन्त्रालयले जनाएको छ । कार्यदलले विपद्बाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक र वस्तुगत मूल्याङ्कन गर्नेछ। तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन पुनःस्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गरिनेछ । त्यस्तै, प्रभावित क्षेत्र, संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गरिनेछ । आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा आर्थिक स्रोतको समेत मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ । कार्यदलले संघ, प्रदेश र स्थानीय तहसँगै सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय र सहजीकरण गर्नेछ।
पुनर्निर्माणका क्रममा भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढी, पहिरो तथा अन्य विपद् जोखिमलाई ध्यानमा राख्दै भविष्यमा जोखिम कम हुने गरी पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरिनेछ । दोहोरो लगानी, स्रोतको दुरुपयोग तथा एउटै काम दोहोरिन नदिन एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गरिनेछ। आवश्यक नीतिगत, कानुनी, प्रशासनिक तथा बजेटसम्बन्धी निर्णयका लागि सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिससमेत गरिनेछ । कार्यदलले कार्यप्रगति, देखिएका समस्या तथा समाधानका उपायसहित नियमित प्रतिवेदन पेश गर्नेछ। साथै, कार्यक्षेत्रभित्रका कामको अनुगमन, मूल्याङ्कन तथा गुणस्तर सुनिश्चित गर्ने र विपद् पुनःस्थापनाका क्रममा प्राप्त अनुभव तथा तथ्यका आधारमा भविष्यमा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझाव दिनेछ । मन्त्रालयका अनुसार कार्यदलले सम्बन्धित सबै निकायबीच समन्वय गर्दै प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना, अत्यावश्यक पूर्वाधारको पुनःसञ्चालन र नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अघि बढाउनेछ ।
२०- स्पेनिस ला लिगाअन्तर्गत तेस्रो चरणको खेलमा बार्सिलोनाले राओ भालेकानोमाथि ५-२ गोलको शानदार जित निकाल्दै सिजनको लगातार तेस्रो जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुवातमै अप्रत्याशित झट्का बेहोरेको थियो । १२औँ मिनेटमा सर्जियो कामेलोले गोल गर्दै राओलाई अग्रता दिलाएका थिए । तर बार्सिलोनाले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल उल्टाएको थियो । खेलको १९औँ मिनेटमा राफिन्हाले बराबरी गोल गरे भने २१औँ मिनेटमा लामिन यामालले उत्कृष्ट प्रहारमार्फत बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए । यामालको यो गोल बार्सिलोनाका लागि ५०औँ गोलसमेत बनेको थियो । दोस्रो हाफमा बार्सिलोनाले अग्रता थप फराकिलो बनायो ।
खेलको ५१औँ मिनेटमा राओका फ्लोरियन लेज्युनले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोना ३-१ गोलले अघि बढेको थियो । खेलको ५९औँ मिनेटमा कामेलोले व्यक्तिगत दोस्रो गोल गर्दै राओलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर खेलको ७१औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ४-२ बनाएका थिए । खेलको ९०औँ मिनेटमा यामालले पनि व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ५–२ को जित सुनिश्चित गरेको थियो । यस जितसँगै बार्सिलोनाले तीन खेलबाट नौ अंक जोडेको छ । समान नौ अंक रहेको रियाल म्याड्रिडलाई गोल अन्तरमा पछि पार्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा पुगेको छ । राओ भालेकानो भने तीन खेलबाट एक अंकसहित १८औँ स्थानमा छ ।