काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले २ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, प्रशासक विजयकुमार श्रेष्ठलगायत वरिष्ठ अधिकृतहरूले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा २ करोड ५० लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्लेले विपद्को समयमा सहयोग गरेकोमा कर्मचारी सञ्चय कोष परिवारप्रति धन्यवाद व्यक्त गरे।
कोष सञ्चालक समितिका अध्यक्ष बरालले प्राकृतिक विपद्, महाभूकम्प, महामारीलगायत राष्ट्रिय संकटका समयमा कर्मचारी सञ्चय कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गर्दै आएको बताए। सोही निरन्तरताअन्तर्गत भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरिएको उनले जानकारी दिए।
त्यस्तै, कोषका प्रशासक श्रेष्ठले विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए। उनले आगामी दिनमा पनि विपद् तथा राष्ट्रिय संकटका समयमा कोषले सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कर्मचारी सञ्चय कोषले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुन:स्थापनाका लागि सम्बन्धित सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।