काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले विपद् प्रभावित नागरिकको स्वास्थ्य उपचार तथा राहतका लागि औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
समितिले नेपाल चेम्बर अफ कमर्सलाई ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका रोगका लागि आवश्यक औषधि, ओआरएस, पोभिडोन आयोडिन झोल, टिस्यु पेपर, सर्जिकल सामग्री, सेनेटरी नेप्किनलगायत प्राथमिक उपचार तथा अत्यावश्यक स्वास्थ्य सामग्री बुधबार उपलब्ध गराएको हो ।
स्वास्थ्य तथा सामाजिक समिति सभापति मृगेन्द्र मेहर श्रेष्ठले उक्त औषधि तथा स्वास्थ्य सामग्री नेपाल चेम्बर अफ कमर्स विपद् व्यवस्थापन परिषद्का सहसभापति कृष्णमान श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सहयोग सामग्री करिब ५० लाख रुपैयाँ बराबरको रहेको समितिका सभापति श्रेष्ठले जानकारी दिए ।
चेम्बरका अनुसार प्राप्त सामग्री विपद्बाट प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा सरकारी निकायसँग समन्वय गरी वितरण गरिनेछ । विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा तथा राहत उपलब्ध गराउन निजी क्षेत्रले सरकारसँग समन्वय गर्दै सहयोगलाई निरन्तरता दिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।