काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सले १० करोड रुपैयाँसम्म लगानी गर्ने भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको एनआइबिएल इक्विटी पार्टनर्सले चलचित्र निर्माण कम्पनी इन्सेसन्ट रेन स्टुडियोजसँग लगानी सम्झौता गरेको हो ।
सम्झौताअनुसार चलचित्रको निर्माण र यससँग सम्बन्धित गतिविधिमा १० करोड रुपैयाँसम्म लगानी गरिने कम्पनीले जनाएको छ ।
एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सिवान्त बहादुर पाण्डेले यो साझेदारीले नेपालको एनिमेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाली मौलिक कथा र सिर्जनालाई विश्व बजारसम्म पुर्याउने उद्देश्यले यो लगानी गरिएको बताए ।
‘लस्ट इन मण्डला’ एनिमेटेड फेन्टासी र एड्भेन्चर शैलीको चलचित्र हो । यसको सिर्जना तथा निर्देशन किरण भक्त जोशीले गरेका हुन् भने निर्माता दीपा चिपालु जोशी हुन् ।

चलचित्र हिमालय क्षेत्रका आध्यात्मिक परम्परा, पौराणिक कथा र प्राकृतिक सौन्दर्यबाट प्रेरित छ । यसले मित्रता, करुणा, अपनत्व र आत्म–अन्वेषणको कथा विश्वस्तरीय एनिमेसनमार्फत प्रस्तुत गर्ने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ ।
एनआइएमबि एस क्यापिटलले यसअघि पनि ‘लस्ट इन मण्डला’ परियोजनाका लागि कोष संकलन र लगानीकर्ता परिचय कार्यक्रममा सहयोग गर्दै आएको जनाएको छ ।