काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। उक्त रकम अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायत भोटेकोशी नदी प्रणालीबाट प्रवेश गरेको आकस्मिक भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नाडाले उक्त रकम उपलब्ध गराएको हो।
नाडाले नगद सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ। नाडाको टोलीले प्रभावित परिवारको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा आवश्यक सामग्री वितरण गर्दै आएको छ।
नाडाले विपद्को कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निलमणि पाठक लगायतको उपस्थिति थियो।