काठमाडौं । नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा आधारित क्लिनिकल प्रविधि कम्पनी कैरोजहेलिक्स स्थापना गरेकी छन् ।
कम्पनीले जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट सिर्जना हुने ज्ञानलाई कसरी संकलन, एकीकृत र प्रयोग गर्ने भन्ने प्रक्रियालाई रूपान्तरण गर्ने उद्देश्य राखेको छ ।
अमेरिकामा आधारित क्लिनिकल प्रविधि कम्पनीद्वारा आर्टिफिसियल इन्टेलिजेन्स, गणित तथा प्रमाणमा आधारित प्रणालीको संयोजनमार्फत जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट प्राप्त ज्ञानलाई संकलन, एकीकृत र पुन: प्रयोग गर्न सहयोग गर्ने प्रविधिको विकास गरिएको जनाएको छ ।
क्लिनिकल ट्रायलका क्रममा ठूलो मात्रामा प्रोटोकल, प्रतिवेदन, सञ्चालनसम्बन्धी तथ्यांक तथा विशेषज्ञका निर्णयहरू सिर्जना हुन्छन् ।
तर, महत्त्वपूर्ण ज्ञान प्राय: विभिन्न प्रणालीमा विभाजित भएर रहने भएकाले अनुसन्धानकर्ता तथा संस्थाहरूले विगतका ट्रायलबाट प्रभावकारी रूपमा सिक्ने र त्यसबाट प्राप्त ज्ञानलाई भविष्यका अध्ययनमा प्रयोग गर्ने क्षमतामा सीमितता देखिने गरेको छ ।

यस चुनौतीलाई सम्बोधन गर्न कैरोजहेलिक्स आर्टिफिसियल इन्टेलिजेन्स, तथ्यांकशास्त्र तथा प्रमाणमा आधारित प्रणालीहरूको संयोजनमार्फत संचित क्लिनिकल ट्रायलसम्बन्धी ज्ञानलाई प्रयोगयोग्य बौद्धिक सूचनामा रूपान्तरण गर्ने प्रविधि विकास गरिरहेको कम्पनीले बताएको छ ।
कम्पनीले हालसम्म २५ सदस्यीय टोली गठन गरिसकेको छ भने क्लिनिकल ट्रायल इन्टेलिजेन्ससम्बन्धी कार्यशील प्लेटफर्म विकास गरिसकेको छ । साथै, कन्ट्र्याक्ट्स रिसर्च अर्गनाईजेसन तथा जैव प्रविधि कम्पनीहरूसँग व्यावसायिक सहकार्यसमेत प्रारम्भ गरिसकेको छ ।
कैरोजहेलिक्सको क्लिनिकल ट्रायल योजना, अनुसन्धान केन्द्र सिफारिस, सिन्थेटिक डाटा तथा नियमनयुक्त आर्टिफिसियल इन्टेलिजेन्सलगायतका क्षेत्रमा ११ वटा अस्थाई पेटेन्ट आवेदनहरु समेत दर्ता गरिसकेको छ ।
अधिकारीको गणित, इन्जिनियरिङ, उद्यम प्रविधि तथा क्लिनिकल अनुसन्धान क्षेत्रमा रहेको बहुआयामिक अनुभवबाट यसले आकार लिएको हो ।
१६ वर्षको उमेरमा नेपालबाट अमेरिका पुगेकी अधिकारीले गणित र प्रविधिप्रतिको आफ्नो रुचिलाई निरन्तर अगाडि बढाउँदै विभिन्न क्षेत्रमा काम गरिन्, जसले उनलाई क्रमश: क्लिनिकल अनुसन्धानका जटिलतासँग नजिकबाट परिचित गरायो ।
सन् २०२४ मा, प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा गरेको कामका लागि अधिकारीलाई फर्मा भ्वाईस १०० मा समेत सम्मानित गरिएको थियो । यसले प्रविधि र जीवन विज्ञान क्षेत्रको अन्तरसम्बन्धमा उनले पुर्याएको योगदानलाई थप उजागर गरेको छ ।
क्लिनिकल अनुसन्धान क्षेत्रमा प्राप्त अनुभवबाट अधिकारीले एउटा महत्त्वपूर्ण तथ्य पहिचान गरिन्, जुन पछि कैरोजहेलिक्सको मूल उद्देश्यको आधार बन्यो । क्लिनिकल ट्रायलले के भयो भन्ने विषयलाई व्यवस्थित रूपमा अभिलेख गर्ने भए पनि महत्त्वपूर्ण निर्णयहरू किन गरिए भन्ने पछाडिको ज्ञान, तर्क तथा निर्णय प्रक्रियालाई भविष्यमा प्रभावकारी रूपमा पुन:प्रयोग गर्न सकिने गरी सधैँ अभिलेखित गरिएको हुँदैन ।
यही अन्तरलाई सम्बोधन गर्न कैरोजहेलिक्सले विभिन्न अध्ययन तथा क्लिनिकल ट्रायलबाट संचित ज्ञानलाई सुरक्षित राख्ने, एकअर्कासँग जोड्ने र त्यसबाट सिक्न सकिने प्रणाली विकास गरिरहेको छ ।
यसले क्लिनिकल अनुसन्धान संस्थाहरूलाई विगतका अध्ययनबाट प्राप्त ज्ञानलाई व्यवस्थित रूपमा भविष्यका अनुसन्धानमा प्रयोग गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।
नेपालबाट अमेरिकासम्मको अधिकारीको यात्राबाट प्रेरित कैरोजहेलिक्सले क्लिनिकल अनुसन्धानको आगामी पुस्तामा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
कम्पनीले विगतका क्लिनिकल ट्रायलबाट प्राप्त ज्ञानलाई व्यवस्थित रूपमा भविष्यका अध्ययनका लागि उपयोगी बौद्धिक सूचनामा रूपान्तरण गर्न सहयोग गर्दै जीवन विज्ञान क्षेत्रलाई थप ज्ञान–आधारित अनुसन्धान प्रणालीतर्फ अघि बढाउने लक्ष्य राखेको छ ।