काठमाडौं । रसुवाको बेत्रावती क्षेत्रमा विपत्तिबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सिद्धार्थ हस्पिटालिटी परिवारले सहयोग गर्ने भएको छ ।
नीलकण्ठ माध्यमिक विद्यालयले सञ्चालन गर्ने छात्रावासमा बस्ने प्रभावित बालबालिकाका निम्ति एक वर्षसम्म आवश्यक खाना उपलब्ध गराउने जिम्मेवारी सिद्धार्थ परिवारले लिने भएको हो ।
राहत सामग्री तथा खाना लिएर बेत्रावती पुगेको सिद्धार्थ परिवारको टोलीले स्थानीय प्रतिनिधि तथा विभिन्न सहयोगी संस्थासँग पुनस्र्थापनाका विषयमा छलफल गरेको थियो । त्यसक्रममा नीलकण्ठ माविका प्रभावित बालबालिकाको अवस्था र उनीहरूको शिक्षाका विषयमा समेत छलफल भएको थियो ।
झन्डै ६०० विद्यार्थी अध्ययनरत विद्यालयमा करिब २०० विद्यार्थी अझै सम्पर्कमा आउन नसकेको तथा केही बालबालिका अभिभावक गुमाउने अवस्थाबाट प्रभावित भएका जानकारी टोलीलाई दिइएको छ । यस्तो परिस्थितिमा प्रभावित बालबालिकालाई सुरक्षित वातावरणमा राखेर शिक्षा निरन्तरता दिन विद्यालयले छात्रावास सञ्चालन गर्ने योजना अघि बढाएको हो ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले विपत्तिपछि तत्कालीन राहतसँगै बालबालिकाको शिक्षा, संरक्षण र भविष्यलाई प्राथमिकतामा राखिनुपर्ने बताएका छन् । प्रभावित समुदायलाई आफ्नो क्षेत्रबाट सहयोग गर्नु व्यवसायको सामाजिक दायित्व समेत उनले उल्लेख गरेका छन् ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ । ग्रुपले सिद्धार्थ एसोसिएसन फर केयर एन्ड रेस्पोन्सिबिलिटी (साकार)मार्फत स्वास्थ्य शिविर, रक्तदान, अस्पताल, छात्रावास र वृद्धाश्रमलाई सहयोग, शिक्षा तथा सीप विकास, वातावरण संरक्षणका साथै विपद्का समयमा राहत, पुनस्र्थापनालगायत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विपद्बाट प्रभावित समुदायको आवश्यकता अझै कायम रहेकाले सिद्धार्थ परिवारले साकारमार्फत आगामी दिनमा राहत तथा पुनस्र्थापनाका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिइने जनाएको छ ।