पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ।
सङ्घको ३६औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २ हजार ७३१ जना मतदाता रहेका छन्। निर्वाचन समितिका संयोजक दामु अधिकारीका अनुसार हालसम्म ६ सयभन्दा बढी मतदाताले मतदान गरिसकेका छन्।
निर्वाचनबाट अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ। सङ्घको नेतृत्व चयनका लागि भइरहेको निर्वाचनलाई पोखराको व्यावसायिक क्षेत्रमा चासोका साथ हेरिएको छ।
मतदान सम्पन्न भएपछि भोलि सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।




