काठमाडौं । नेपालमा बीवाइडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले बाढीपीडितको उद्धार, राहत, पुन:स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले ७ करोड रुपैयाँ बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ। उक्त सहयोग रकम बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत वितरणसँगै पुन:स्थापना र भौतिक संरचना पुनर्निर्माणमा उपयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।
लअभििलष्mदब्म्द्यी
कम्पनीका अनुसार गत साउन २६ गते आएको विनाशकारी बाढीका कारण विभिन्न क्षेत्रका परिवार तथा समुदायले ठूलो क्षति व्यहोर्नुपरेको छ। बाढीका कारण जनधनको क्षतिसँगै विस्थापन र अनिश्चितताको अवस्था सिर्जना भएको साइमेक्स बीवाइडीले जनाएको छ।
विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति कम्पनीले गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै प्रभावित नागरिकको शीघ्र पुन:स्थापनाको कामना गरेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा उद्धारकर्मीप्रति पनि कम्पनीले सम्मान व्यक्त गरेको छ। प्रभावित समुदायको पुन:स्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर साथ रहने प्रतिबद्धता कम्पनीले जनाएको छ।

साइमेक्स बीवाइडीले विपद्को कठिन घडीमा निजी क्षेत्रको सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उक्त सहयोग गरेको जनाएको छ।
कम्पनीका अनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल राहतदेखि दीर्घकालीन पुन:स्थापना र पुनर्निर्माणसम्मका कार्यमा निजी क्षेत्रको सहयोगले थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्नेछ।