काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी महासंघले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष उक्त रकम हस्तान्तरण गरेको हो। सहयोग रकम अर्थमन्त्री मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराइएको हो ।
महासंघका अनुसार उक्त रकम केन्द्रीय कार्यसमिति, प्रदेश समितिहरू तथा महासंघमा आबद्ध जिल्ला, नगर, वस्तुगत र एसोसिएट सदस्यहरूबाट संकलन गरिएको हो।
सहयोग हस्तान्तरण गर्दै महासंघका कार्यवाहक अध्यक्ष बज्राचार्यले विपद्को समयमा निजी क्षेत्र र व्यवसायी समुदायको सामाजिक दायित्व अझ महत्वपूर्ण हुने उल्लेख गर्दै विपद्का कारण प्रभावित बनेका समुदायमा तत्काल राहत पुर्याउन आफूहरूले सहयोग संकलन गरेको बताए।
महासंघले प्राकृतिक विपत्तिका समयमा यसअघि पनि विभिन्न प्रकारका सहयोग गर्दै आएको जनाएको छ। यसपटकको सहयोगले बाढी प्रभावित नागरिकको तत्काल राहत तथा प्रभावित क्षेत्रको पुन:स्थापनामा केही योगदान पुग्ने अपेक्षा महासंघको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्य, विशिष्ट सदस्य मोहन सुनार, उपाध्यक्ष पवनकुमार सोमानी, महासचिव किरणभाइ बज्राचार्य, कोषाध्यक्ष सुदीप श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतम र महानिर्देशक शिव दुवाडीलगायतको उपस्थिति थियो।त्यस्तै, महासंघको काठमाडौं जिल्ला संघका अध्यक्ष रोहिना शाक्य र कोषाध्यक्ष रमेशमान शाक्य, ललितपुर संघका अध्यक्ष सुविन बज्राचार्य तथा बुढानीलकण्ठ संघका अध्यक्ष भीष्म गौतमलगायत प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।