काठमाडौं । रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ ।
भायानेटले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्बाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ ।
विपद्को समयमा प्रभावित नागरिकलाई राहत र पुन:स्थापनामा सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको भायानेटको भनाइ छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध हुने उक्त रकमबाट रसुवा बाढी प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका राहत, उद्धार तथा पुन:स्थापनाका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भायानेटले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना र प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ ।
उद्धार, राहत तथा सहयोगमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न संघसंस्थाप्रति पनि कम्पनीले आभार व्यक्त गरेको छ ।

विपद्पछि राहत, पुन:स्थापना र पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता भायानेटले जनाएको छ ।