काठमाडौं । एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ। नेपाल हङकङसँग १५ रनले पराजित भएको हो।
मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। २६२ रनको विजयी लक्ष्य पछाएको नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदै अल आउट भएको हो।
नेपालको लागि इशान पाण्डेले सर्वाधिक ९० रन बनाए। उनले १०६ बलमा ६ चौका र २ छक्का प्रहार गरे। एकतर्फबाट विकेट गइरहँदा उनले नेपालको पारी सम्हालेका थिए।
नेपालका ओपनरद्वय अर्जुन कुमार र आसिफ शेखले क्रमश: १४ र ४४ रन बनाए। दीपेन्द्र सिंह ऐरीले २५, गुल्शन झाले २० रन बनाए। करण केसीले २१ रन बनाउँदा कप्तान सन्दीप लामिछाने २ रनमा रनआउट भए। अन्तिम विकेटका रूपमा ललित नारायण राजवंशी एक रनमा एलबीडब्लु आउट भए। शेर मल्ल ५ रनमा अविजित रहे।
हङकङका लागि बलिङतर्फ अजिज खानले सर्वाधिक ४ विकेट लिए। यासिम मुर्तजाले २ विकेट लिँदा अतिकुल इक्बाल, किन्चित देवांगन शाह र नस्रुल्ला रानाले १–१ विकेट लिए।

त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको हङकङको लागि बाबर हायतले ११७ रनको अविजित शतकीय पारी खेले। उनले १२६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे। आठौं विकेटका लागि उनले इशान खानसँग १२८ रनको शतकीय साझेदारी पनि बनाए। इशान खान भने ३५ रनमा अविजित रहे। तेस्रो क्रममा आएका हायतले एकतर्फबाट विकेट गइरहँदा पारी सम्हाल्दै हङकङको इनिङस् उकासे।
ओपनरद्वय जिसन अली र अंशुमान रातले क्रमश: १५ र १३ रन बनाउँदा साहिद वासीफले ४५ रन बनाए। नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। शेर मल्लले ३ विकेट लिए।
अन्तिम खेलमा हङकङसँग पराजित भए पनि नेपालले समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनल खेल्ने भएको छ। नेपालसँग आजको जित सुनिश्चित गरेपछि हङकङ समूह उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्यो। तेस्रो खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको हो।