काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा नियुक्ति तथा पटक–पटक बढुवा लिएको आरोपमा प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार केसीविरुद्ध कैद र जरिवानाको माग दाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।
राज्यका सुरक्षा निकायमा कार्यरत कर्मचारीले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरीपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा केसीले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशअन्तर्गतको बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी भएको भनिएको हाई स्कुल परीक्षाको नक्कली प्रमाणपत्र पेस गरेको पाइएको आयोगको दाबी छ।
केसीले उक्त प्रमाणपत्रका आधारमा राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा नियुक्ति लिएको आयोगले जनाएको छ।