काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत्गृहमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
नेपाली सेना, ६ देशका विदेशी उद्धार टोली तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले विभिन्न स्थानमा खोजी गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो विवरण अनुसार रसुवागढी जलविद्युत् आयोजनामा संयुक्त खोज तथा उद्धार टोली विद्युत्गृह, ट्रान्सफर्मर कक्ष र नियन्त्रण कक्षसम्म पुगेर खोजी गरिरहेको छ ।
त्यस्तै, लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनाको २५ जनाको टोलीले सुरुङभित्र खोजी गरिरहेको छ भने चिलिमे जलविद्युत् आयोजनामा विदेशी उद्धार टोलीसहितको संयुक्त टोलीले सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम गरिरहेको छ । सुरुङसम्म भारी उपकरण पुर्याउन विस्फोट गराएर बाटो निर्माण गरिएको छ भने अब करिब ३५ मिटर दूरी बाँकी रहेको जनाइएको छ ।
त्यस्तै, माथिल्लो त्रिशूली–१ आयोजनाको हाकुबेशीस्थित सुरुङमा उद्दार कार्य गरिरहेको छ र त्रिशूली–३ एको विद्युत्गृह तथा सुरुङ क्षेत्रमा र त्रिशूली–३ बीमा पनि संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको बताइएको छ ।

सुरुङ उद्धारका लागि भारत, चीन र दक्षिण कोरियाबाट आएका टोलीले नेपाली सेनासँग समन्वय गरी काम गरिरहेका छन् । संयुक्त अरब इमिरेट्स, मलेसिया र अस्ट्रेलियाका उद्धार टोलीले समेत सहयोग गरिरहेको मन्त्रालयले जनाएको छ । विभिन्न देशबाट प्राप्त उपकरण, मानवरहित विमान तथा अन्य उद्धार सामग्री परिचालन गरिएको छ ।
विपद्को जटिलता र उद्धार कार्यको आवश्यकतालाई ध्यानमा राख्दै सरकारले थप उच्च क्षमताका मानवरहित विमान, लेजर आधारित भू–सर्वेक्षण उपकरण, अस्थायी पुल, रोग नियन्त्रण सामग्री, डिएनए परीक्षण सामग्री, पानीभित्र सञ्चालन हुने मानवरहित उपकरण र उच्च क्षमताका पानी तान्ने पम्पलगायत सामग्रीका लागि अन्तर्राष्ट्रिय साझेदारसँग सहयोग मागेको जनाएको मन्त्रालयले जनाएको छ ।