काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवामा आएको प्रलयकारी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
उनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोज–उद्धार, राहत तथा अस्थायी बसोबासको अवस्थाबारे जानकारी लिए ।
संयोजक प्रचण्डले नुवाकोटको बेत्रावती, त्रिशूली, देवीघाट र बेलकोटगढी तथा धादिङको गल्छी क्षेत्रमा पुगेर बाढीले पुर्याएको क्षतिको प्रत्यक्ष अवलोकन गरे । त्यस क्रममा उनले प्रभावित नागरिकसँग भेटघाट तथा छलफल गर्दै उनीहरूले भोगिरहेका समस्या, राहतको अवस्था र पुनःस्थापनाका लागि तत्काल आवश्यक पहलका बारेमा जानकारी लिए ।
प्रचण्डले विभिन्न होल्डिङ सेन्टरमा पुगेर विस्थापित नागरिकको अवस्था, अस्थायी बसोबास, खाद्यान्न, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकताबारे समेत जानकारी लिए ।
यसैक्रममा जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा राजनीतिक दल, संघ–संस्था, सरकारी कार्यालय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा उनी सहभागी भए ।

कार्यक्रममा सहभागीहरूले हालसम्म भएका खोज–उद्धार, राहत तथा पुनःस्थापनाका काम, देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने कार्यबारे धारणा राखेका थिए ।

छलफलका क्रममा प्रचण्डले तत्काल खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिन राज्यका सम्पूर्ण स्रोत, साधन र शक्ति परिचालन गर्नुपर्नेमा जोड दिए । बाढीका कारण अवरुद्ध सडक, विद्युत्, सञ्चार, खानेपानीलगायत आधारभूत सेवा तत्काल सञ्चालनमा ल्याउँदै प्रभावित क्षेत्रको कनेक्टिभिटी पुनःस्थापना गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने उनले बताए ।
उनले विस्थापित नागरिकका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र पहल बढाउनुपर्ने बताए । राहत र उद्धारमा मात्र सीमित नभई प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई समेटेर एकीकृत पुनःस्थापना योजना अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

प्रचण्डले विपद्को यस कठिन घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राज्यका सम्पूर्ण संयन्त्र, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज तथा सामाजिक संघ–संस्थालाई एकीकृत रूपमा परिचालन गर्दै प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउने अभियानमा केन्द्रित हुनुपर्ने बताए ।