काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जान लागेका छन् । प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु जाने भएका हुन् ।
प्रधानसेनापति बनेपछि हुन लागेको सिग्देलको यो पहिलो चीन भ्रमण हो । यसअघि गत भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुने भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन भएपछि उनको भ्रमण स्थगित भएको थियो ।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सगरमाथा फ्रेन्डसीप नामको सैन्य अभ्यास हुँदै आएको छ । यस वर्ष पनि सैन्य अभ्यासको तयारी भइरहेको बेला सिग्देल चीन भ्रमणमा जान लागेका हुन् । करिब एक साता लामो भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सैनिक सम्बन्ध, सुरक्षा सहकार्यका विषयमा छलफल हुने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ ।
सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन् ।

