काठमाडौं । भोटेकोशी बाढीले बगाएका १ हजार ३८६ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट मृत्यु भएकामध्ये १ हजार ३८६ जनाको शव फेला परेको जनाएको छ।
फेला परेका शवमध्ये १०२ वटा सनाखत भइसकेको छ। मृतकमध्ये चितवनमा ३६४ जना,नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२,नुवाकोटमा १९९,रसुवामा १८५,गोरखामा ७७,धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। जसमध्ये ५१० जनाको आंशिक मानव अंग मात्र रहेको छ।
प्राधिकरणका अनुसार ५ हजार १३० जना अझै सम्पर्कविहीन छन्। सम्पर्क बिहीन हुने ५८७ विदेशी नागरिक रहेका छन्। उनीहरुको खोजी कार्यमा नेपाली सेना र प्रहरीले जारी राखेको छ। हालसम्म १३ हजार ७२८ को उद्धार गरिएको छ। हालसम्म १४८२ पटक हेलिकोप्टर उडान गरिएको छ।
शव पहिचानका लागि हालसम्म १२८६ मृतकको र १७७९ जना आफन्तको डिएनए नमुना संकलन भएको छ।