काठमाडौं । आफ्नै घरको सपना देखिरहेका मध्यम वर्गीय उपभोक्तालाई लक्षित गर्दै काठमाडौंमा आयोजना हुन लागेको ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण एक्स्पो’मा सुलभ मूल्यदेखि भारी छुटसम्मका विभिन्न अफर सार्वजनिक गरिएको छ।
असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँमै घर, जग्गा खरिदमा २५ प्रतिशतसम्म छुट तथा ५ हजार १ रुपैयाँमै टोकन बैना गर्न सकिने अफर ल्याइएको छ। टोकन बैना गरेपछि जग्गा चित्त नबुझेमा रकम फिर्ता हुने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।
त्यस्तै, काठमाडौं नजिकै तीन बेडरुमसहितको दुईतले घर करिब १ करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने अवधारणासमेत एक्स्पोमा प्रस्तुत गरिने भएको छ।
नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनीका संयोजक रोशन भोयद्योका अनुसार एक्स्पोमा सहभागी उपभोक्ताले आफ्नो आवश्यकता र बजेटअनुसार घर तथा जग्गा छनोट गरी खरिद गर्न सक्नेछन्। घर निर्माण गर्न चाहनेले निर्माणको जिम्मेवारीसमेत सम्बन्धित कम्पनीलाई दिन सक्ने व्यवस्था गरिएको छ। साथै, घरजग्गा क्षेत्रमा साझेदारीमा लगानी गर्ने अवसरसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले एक्स्पोका अवसरमा सुलभ मूल्यको आवासीय घर निर्माणको अवधारणा सार्वजनिक गरेका छन्। उनका अनुसार काठमाडौंमा घर बनाउने सपना बोकेका मध्यम तथा श्रमजीवी वर्गलाई लक्षित गर्दै काठमाडौं नजिकका नुवाकोट र रसुवा मोड क्षेत्रमा १ करोड ४० लाख रुपैयाँसम्मको बजेटमा तीन बेडरुमसहितको दुईतले घर उपलब्ध गराउने योजना अघि सारिएको हो।

कुँवरका अनुसार ठूलो परिमाणमा घर निर्माण गरी कम नाफामा बिक्री गर्ने अवधारणामार्फत लागत घटाएर यस्ता आवासीय घर विकास गर्ने योजना बनाइएको हो। ग्रान्डी डेभलपर्सलगायतका कम्पनीमार्फत यस्ता आवासीय घर एक्स्पोमा प्रस्तुत गरिने उनले जानकारी दिए।

प्रदर्शनीका सल्लाहकार तथा वरिष्ठ कानुनी सल्लाहकार गोकुल प्रसाद बुर्लाकोटीका अनुसार घरजग्गाको मूल्य उच्च हुँदा मध्यम वर्गीय उपभोक्तालाई आफ्नै घरको सपना पूरा गर्न कठिनाइ भइरहेको छ। त्यसैले ठूलो परिमाणमा घर निर्माण गरी तुलनात्मक रूपमा सुलभ मूल्यमा बिक्री गर्ने अवधारणा अघि सारिएको हो।
उनले एक्स्पोमा घर तथा जग्गा खरिद गर्न चाहने उपभोक्ताले बिक्रीकर्तासँग प्रत्यक्ष संवाद गरी परियोजनाको स्थान, मूल्य, निर्माणको अवस्था, भुक्तानी प्रक्रिया तथा अन्य सर्तबारे जानकारी लिन सक्ने बताए।
आयोजकका अनुसार एक्स्पोमा घरजग्गा खरिद–बिक्री तथा निर्माणसम्बन्धी नि:शुल्क परामर्शसमेत उपलब्ध हुनेछ। बैंक तथा वित्तीय संस्थाको सहभागिताका कारण सम्भावित घर खरिदकर्ताले आवासीय कर्जा, लगानी तथा वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी एउटै स्थानबाट लिन सक्नेछन्।
पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाउने सम्भावनालाई समेत एक्स्पोले जोड दिएको आयोजकको भनाइ छ।
यसपटकको एक्स्पोमा घर तथा जग्गासँगै निर्माण सामग्री र प्रविधिका उत्पादनसमेत प्रदर्शन गरिनेछन्। सिमेन्ट, स्टिल, पेन्ट, काठ, सिसा, सेनिटरी सामग्री, विद्युतीय उपकरण, फर्निचर, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापन प्रविधिसम्मका सामग्री तथा सेवा प्रदर्शनीमा राखिनेछन्।
घर निर्माण गर्नुअघि प्राविधिक पक्ष बुझ्न चाहने उपभोक्ताका लागि भूकम्पप्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी नि:शुल्क परामर्शको व्यवस्था गरिएको छ। इन्जिनियर, आर्किटेक्ट तथा निर्माण क्षेत्रका विज्ञबाट घरको डिजाइन, संरचनागत सुरक्षा, निर्माण सामग्रीको छनोट, लागत व्यवस्थापन तथा सुरक्षित निर्माण प्रविधिबारे जानकारी लिन सकिनेछ।
एक्स्पोमा हरित तथा वातावरणमैत्री निर्माण प्रविधिलाई समेत प्राथमिकता दिइएको छ। सौर्य ऊर्जा, वर्षाको पानी संकलन, फोहोर व्यवस्थापन तथा ऊर्जा–दक्ष प्रविधिसम्बन्धी सामग्री र समाधानबारे उपभोक्तालाई जानकारी दिइनेछ।
एक्स्पो अवधिमा स्वास्थ्यसम्बन्धी सामाजिक कार्यक्रमसमेत सञ्चालन हुनेछन्। आयोजकका अनुसार ओम अस्पताल र ग्रान्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ भने रक्तदान कार्यक्रमसमेत आयोजना हुनेछ।
यसपटकको प्रदर्शनीलाई प्रविधिमैत्री बनाउँदै डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क, डिजिटल डिस्प्ले तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिनेछ। कागजी सामग्रीको प्रयोग घटाउँदै एक्स्पोलाई ‘पेपरलेस एक्स्पो’ बनाउने लक्ष्य आयोजकले राखेको छ।
नयाँ व्यवसाय सुरु गर्न चाहने युवालाई लक्षित गर्दै तालिम तथा व्यावसायिक परामर्शको सुविधा पनि राखिएको छ। छनोट भएका नयाँ तथा युवा उद्यमीलाई नि:शुल्क तालिम तथा परामर्श उपलब्ध गराउने योजना आयोजकले अघि सारेको छ।
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको एक्स्पोको उद्देश्य नेपालमा सुरक्षित, सुव्यवस्थित तथा वैज्ञानिक बस्ती विकास गरी दिगो शहरीकरणलाई प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा एक्स्पो आयोजना हुन लागेको हो। नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा समेत आयोजना हुन लागेको प्रदर्शनीको व्यवस्थापन ‘सिया इभेन्ट एसोसिएट्स प्रा.लि.’ले गरिरहेको छ।
एक्स्पोको टाइटल स्पोन्सर ‘सिजी प्रोपर्टिज/सिजी होल्डिङ्गस’, पावर्ड बाइ स्पोन्सर ‘एशियन पेन्टस्’, इन्स्योरेन्स पार्टनर ‘प्रभु इन्स्योरेन्स’ तथा सहयोगी निकायमा स्मार्ट पानी, केबी तथा युएचएस होल्डिङ्गस रहेका छन्।