काठमाडौं । भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदारका रूपमा सहकार्य गरेको छ।
नेपालमा आयोजना हुने ठूला अन्तर्राष्ट्रिय ई–स्पोट्र्स प्रतियोगितामध्ये एक मानिने यस प्रतियोगिताका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ।
ई–स्पोट्र्समा खेलको नतिजा खेलाडीको सीप र निर्णय क्षमतामा मात्र निर्भर नभई, इन्टरनेटको कार्यसम्पादनले पनि प्रत्यक्ष प्रभाव पार्छ।
विशेषगरी उच्चस्तरमा प्रतिस्पर्धा हुने व्यावसायिक खेलमा इन्टरनेटको गति मात्र पर्याप्त नभई स्थिरता, निरन्तरता र न्यून विलम्बता उत्तिकै महत्त्वपूर्ण हुने कम्पनीले जनाएको छ ।
खेलका क्रममा केही क्षणका लागि आउने अवरोध वा कनेक्टिभिटीमा हुने अस्थिरताले समेत महत्वपूर्ण समयमा खेलको अवस्था र नतिजालाई प्रभावित गर्न सक्छ।

यसै कारण, अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका लागि आवश्यक कनेक्टिभिटी उपलब्ध गराउने जिम्मेवारी भायानेटका लागि महत्वपूर्ण उपलब्धि हो।

पीएमजीओजस्तो ठूलो अन्तर्राष्ट्रिय ई–स्पोट्र्स प्रतियोगिताका लागि भायानेट छनोट हुनु यसको नेटवर्क क्षमता र विश्वसनीयताको प्रमाण हो।