काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न ४२औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकको साधारण सभा असोज २२ गते बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे बस्नेछ।
सभाले बैंकको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। यसका लागि बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभामा पेश हुनेछ।
सभाबाट ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित हुनेछ। साथै, संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावमाथि पनि छलफल गरी निर्णय गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।