काठमाडौँ- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पमा क्षति भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको दाबि गरेको छ।
कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको संख्या करिब साढे तीन लाख पुगेको प्राधिकरणले अनुमान गरेको छ।
भूकम्पबाट क्षति भएकामध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या ७ लाख २३ हजार ७ सय २८ छ । त्यसमध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ५ लाख ३ हजार ३६ पुगेको छ। २ लाख ६६ हजार ९ सय ४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन्।