काठमाडौं । टंगालस्थित भाट–भटेनी सुपर स्टोर सोमबारदेखि औपचारिक रूपमा पुन: सञ्चालनमा आउने भएको छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङका अनुसार सोमबारदेखि पुन: सञ्चालनमा ल्याउन लागिएको बताए । गत वर्ष भदौ २४ मा भएको जेन्जी आन्दोलनमा उक्त स्टोरमा आगजनी गरिएको थियो ।
त्यसदिन काठमाडौंसहित देशभरका १२ स्टोरमा आगजनी गरी ध्वस्त पारिदिएका थिए । आगजनीको एक वर्षपछि पुन: सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष गुरूङले जानकारी दिए ।
“यति ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता गरेन,“ गुरूङले भनेका छन्,“भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा हामीले असर पर्न दिएनौँ ।
कर्मचारीलाई रोजगारीबाट अलग गरेनौँ, गत बर्ष भदौ २४ लगत्तैको दसैंमा प्राप्त गर्ने बोनससमेत कटौती नगरी पुन: सञ्चालन भएका स्टोरहरुमा उनीहरुको भूमिकालाई निरन्तरता दिँदै आयौँ ।“

उनले तातो खरानीबाट उठेको स्मरण पनि गरे । “मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए तर पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौँ, कर्मचारीप्रतिको दायित्व, भूकम्प, कोभिडलगायतका बेला भाटभटेनीले पुर्याएको योगदान सम्झियौँ । र, हामी एउटा निष्कर्षमा पुग्यौँ–खरानीबाट फेरि उठ्ने छौँ,“ उनले भनेका छन्, तातो खरानी, तातो फलाम, तातो इँटा पन्छाएर एक हप्ताभित्रै काम थाल्यौँ ।“

भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले दिएको जानकारीअनुसार सम्पूर्ण तयारी पूरा भएको छ । आगजनीको पाँच महिनामा पूर्णरुपमा जलेको कोटेश्वरस्थित स्टोर सञ्चालनमा आएको थियो ।
“क्रमिक रूपमा विस्तारै जलेका भवन ठड्याउँदै एक पछि अर्को गरी अहिलेसम्म हामीले आगजनीले ध्वस्त भएका १२ मध्ये दसवटा स्टोर पुन:सञ्चालनमा ल्याउन सफल भएका छौँ,“ अध्यक्ष गुरूङले भनेका छन्,“बाँकी रहेका दुईवटा स्टोर पनि पुन:निर्माणको अन्तिम चरणमा रहेकाले छिट्टै पुन:सञ्चालनमा आउनेछन् भन्ने विश्वास लिएका छौँ ।“
उनका अनुसार दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी छ ।
यी स्टोरबाट पनि छिटो ग्राहक सेवा पुन: सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए । पुन:निर्माणमा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई समेत ध्यानमा राखिएको छ ।
पूर्णरूपमा आगजनी भएका स्टोरहरूको पुन:निर्माण स्वाभाविक रूपमा ठूलो समय, स्रोत तथा लगानी आवश्यक पर्ने प्रक्रिया भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुन: सेवा उपलब्ध गराउन सफल भएको उनले बताएका छन् ।