काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने संयन्त्रका रूपमा ‘राइट टु रिकल’ अवधारणालाई अघि बढाएको छ ।
रास्वपाको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक आज पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । पार्टीका महामन्त्री तथा समितिका संयोजक विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको बैठकले उक्त अवधारणासम्बन्धी दस्तावेज निर्माण र आवश्यक बहसलाई अघि बढाउने विषयमा छलफल गरेको हो ।
बैठकमा महामन्त्री आचार्यसहित समिति सदस्यहरू गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरियाको सहभागिता रहेको थियो ।
रास्वपाले प्राथमिकताका साथ उठाउँदै आएको ‘राइट टु रिकल’ अवधारणाले आम मतदाताबाट निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने बैठकमा छलफल भएको बताएको छ । यस अवधारणाले लोकतान्त्रिक निर्वाचन प्रणालीप्रति मतदाताको विश्वास अभिवृद्धि गर्न सक्ने विषयमा समेत बैठक केन्द्रित भएको रास्वपाले जनाएको छ ।

बैठकले ‘राइट टु रिकल’ सम्बन्धी बहसलाई थप विस्तार गर्दै त्यसका लागि आवश्यक दस्तावेज तयार गर्ने निर्णय गरेको छ। समितिलाई थप व्यवस्थित बनाउन मनिष खनाललाई समिति सचिवको जिम्मेवारीसमेत दिइएको छ ।

त्यस्तै, समितिअन्तर्गत विभिन्न विषयमा अध्ययन तथा समन्वय गर्न चारवटा विषयगत उपसमिति गठन गर्ने निर्णय भएको छ ।
संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन समितिमा सुलभ खरेल र गजला शमिम मिकरानी, अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन समितिमा अनुष्का श्रेष्ठ, सरोकारवालासँगको छलफल समन्वय समितिमा समीक्षा बास्कोटा र करिस्मा कठरिया तथा सञ्चार तथा सञ्चारमाध्यम समन्वय समितिमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।