काठमाडौं । कैलालीको टिकापुरमा कर्णाली नदीको कटान रोक्न तटबन्धको काम सुरु भएको छ ।
अविरल वर्षापछि कर्णाली नदीको वहाब बढेर बस्तीमा पस्दा टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित टिकापुर पार्क क्षेत्रको भैरव मन्दिर आसपास कटान सुरु गरेको थियो ।
कर्णालीको कटानले टिकापुर पार्क नै जोखिममा परेपछि बुधबार कैलालीबाट प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरु कोमल ज्ञवाली र करिश्मा कठरियाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
सांसदहरुले जोखिमबारे जानकारी गराएपछि मन्त्री श्रेष्ठले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई तत्कालै फोन गरेर तटबन्धको काम अगाडि बढाउन निर्देशन दिएका थिए ।
सांसद कठरियाकाअनुसार मन्त्री श्रेष्ठले निर्देशन दिएको एक घण्टामै तटबन्धनको काम सुरु भएको हो ।

‘मन्त्रीज्यूको निर्देशनपछि तत्कालै कटान नियन्त्रण गर्न र जोखिम न्यूनीकरणका लागि तटबन्धको काम सुरु भएको छ,’ सांसद कठरियाले भनिन्, ‘मन्त्रीज्यूको तत्कालको समन्वय र पहलका लागि धन्यवाद ।’

सांसद कठरियाकाअनुसार कर्णाली नदीमा मंगलबार पानीको वहाब बढ्दा बाढीले टिकापुर पार्क छेउको भैरव मन्दिर आसपास कटान सुरु गरेको थियो । तटबन्धको काम सुरु भएसँगै अहिले कटान नियन्त्रणमा छ ।