काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचार सेवा थप सहज बनाउने उद्देश्यले किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग साझेदारी गरेको छ।
यस सहकार्यअन्तर्गत कर्मचारी लाभ बीमा (एम्प्लोयी बेनेफिट्स) योजनाअन्तर्गतका योग्य ग्राहकले अस्पतालमा भर्ना हुँदा नगदरहित (क्यासलेस) उपचार सेवा प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार नयाँ व्यवस्थाले उपचारका लागि सुरुमै ठूलो रकम भुक्तानी गर्नुपर्ने आवश्यकता कम गर्नुका साथै बीमा दाबी प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउनेछ ।
स्वास्थ्य समस्या प्राय: अप्रत्याशित रूपमा आउने भएकाले अस्पताल भर्ना, उपचार खर्च व्यवस्थापन तथा दाबी रकम फिर्ता लिनुपर्ने प्रक्रियाले सेवाग्राहीलाई थप तनाव सिर्जना गर्ने गरेको छ।
किस्ट अस्पतालसँगको साझेदारीपछि मेटलाइफका कर्मचारी लाभ बीमा योजनाका योग्य ग्राहकले बीमा योजनाका नियम तथा सर्तअनुसार क्यासलेस उपचार सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यस सुविधाले उपचारसँग सम्बन्धित प्रशासनिक तथा आर्थिक झन्झट कम गर्दै ग्राहकलाई स्वास्थ्य उपचार र स्वास्थ्यलाभमा केन्द्रित हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल नेपालका स्थापित शिक्षण अस्पतालमध्ये एक हो। अस्पतालले सामान्यदेखि विशेषज्ञस्तरसम्मका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रको विकासमा पनि योगदान पुर्याउँदै आएको छ।

मेटलाइफ नेपालले किस्टजस्ता विश्वसनीय स्वास्थ्य संस्थासँगको सहकार्यमार्फत आफ्ना ग्राहक तथा उनीहरूका परिवारलाई आवश्यक परेको समयमा थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।