काठमाडौं । कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।
मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धानबालीलगायत अन्य उत्पादनको संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
भित्र्याउन तयार भएको धानलाई केही दिन परिपक्व भएपछि मात्र काट्न तथा काटेर भित्र्याउन छोडेको धानलाई हावा खेल्ने ठाउँमा राख्न र धानखेतको विभिन्न ठाउँबाट पानीको निकासका लागि आवश्यक प्रबन्ध गर्न किसानलाई सूचित गरेको छ । भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न अनुरोध गरिएको विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिP ।
यस्तै, उच्चपहाडी क्षेत्रमा भाँच्ने बेला भएको मकै तुरुन्त भाँचेर ओतमा राखी हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ । कृषि सञ्चार तथा मानव संसाधन विकास केन्द्रले गोठ, खोरका छाना हुरीबतासले उडाउन नसक्नेगरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न, आफ्ना पशुचौपायालाई अग्लो र सुरक्षित स्थानमा सार्न सन्देश प्रवाह गरेको छ ।

किसानका बाली तथा उत्पादनलाई क्षति कम गर्न जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनका आधारमा आवश्यक सूचना तथा सन्देश पठाइने केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए ।

भारी वर्षाको सम्भावनासँगै झापाका नदी तथा खोला किनारका बस्तीमा सशस्त्र प्रहरीले पूर्वसूचना, निगरानी र उद्धार तयारीलाई तीव्र बनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज ११ गतेसम्म भारी वर्षाको सम्भावना औँल्याएपछि सशस्त्र प्रहरीले यहाँको मेची, कनकाई, रतुवा र बिरिङ खोलालगायतका आसपासका गाउँबस्तीमा विपद्जन्य जोखिमबारे सचेतनामूलक माइकिङ सुरु गरेको हो ।
बिहीबारदेखि सुरु गरेको माइकिङलाई आगामी दिनमा पनि निरन्तरता दिइने सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले जनाएको छ । गणका सूचना अधिकारी जोगेन्द्र केसीका अनुसार सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राखेर खोला तथा नदीको नियमित निगरानी, जोखिमयुक्त क्षेत्रको पहिचान र पेट्रोलिङलाई प्राथमिकता दिइएको छ ।
उहाँका अनुसार पुल, तटबन्ध, कमजोर किनारा, नदी तथा खोला आसपासका बस्ती र डुबान हुनसक्ने स्थानमा विशेष निगरानी गरिनेछ । पानीको सतह र बहावको अवस्था तथा तटबन्धको अवस्थासमेत नियमित अवलोकन गरी जोखिम देखिए तत्काल सम्बन्धित युनिटमा सूचना आदानप्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि उद्धार टोलीदेखि आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक श्रवणकुमार पोखरेलले सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए ।