मनाङ । भारीदेखि अति भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले मनाङका विभिन्न उच्च हिमाली क्षेत्रमा तीन दिन पदयात्रा गर्न रोक लगाइएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म भारीदेखि अति भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
सम्भावित मानवीय क्षतिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मनाङको असोज ८ गतेको निर्णयअनुसार असोज ९ देखि ११ गतेसम्म तिलिचो ताल, थोरङ्लापास, आइस लेक, कालापास र भीमथाङ क्षेत्र तथा अन्य उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरिएको छ ।
यसअघि नै पदयात्राका लागि बाटोमा रहेका पर्यटकलाई समेत सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालय मनाङले अनुरोध गरेको छ ।