ललितपुर । लगातारको वर्षापछि जमिन कमजोर हुँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुई तले घर भत्किएको छ । सोमबार बिहान करिब ६:३५ बजे घर भत्किएर ढलेको हो ।
ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रका अनुसार जोखिम देखिएपछि घरमा बस्दै आएका परिवारलाई अघिल्लो दिन नै सुरक्षित स्थानमा सर्न भनिएको थियो । त्यसैले घर भत्किँदा मानवीय क्षति हुन पाएन ।
सो घरका घरधनी सोवितकुमार थापा भएको बुझिएको छ । उक्त घरमा थापासहित तीन जनाको परिवार बस्दै आएको थियो ।
प्रहरीका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण घर रहेको भिरालो स्थानको जमिन कमजोर बनेको थियो । जमिन गलेपछि घरको संरचना धान्न नसक्दा भत्किएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
घर भत्किएपछि त्यसको तलतिर रहेको खोल्सोसमेत थुनिएको प्रहरीले जनाएको छ । घटनास्थलमा थप जोखिमको अवस्था रहे–नरहेकोबारे आवश्यक सुरक्षा तथा व्यवस्थापनको काम भइरहेको प्रहरीले जनाएको छ ।
