काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना पक्राउ पुर्जी मध्यरातमा पक्राउ गरी करिब १२ घण्टा प्रहरी हिरासतमा राखिएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै दुलालले सरकार कानुनी तथा संवैधानिक बाटोबाट विचलित हुन नहुने बताए। उनले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गर्नुको कारण, पक्राउको कानुनी आधार तथा केही घण्टामै रिहा गरिएको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे।
दुलालले जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै पक्राउ गरिएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सुरक्षा खतरा कसलाई थियो र पक्राउ कसलाई गरिएको हो भन्ने प्रश्न उठाए। उनले भने, ‘पूर्व प्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट भनियो र एजेन्सीबाट सुरक्षा थ्रेट भनेका समाचारहरू आए। गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई गरिन्छ ? यसको जवाफ पनि सरकारले दिनुपर्छ।’
जबरालाई गएको १० गते मध्यरातमा पक्राउ गरिएको उल्लेख गर्दै दुलालले पक्राउ पुर्जीबिनै र स्पष्ट कारणबिनै पक्राउ गरिएकोप्रति आपत्ति जनाए । उनले यस घटनालाई कानुनी राज्यको मान्यतामाथिको प्रश्नका रूपमा प्रस्तुत गरे। ‘गएको १० गते मध्यराति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले पक्राउ गर्यो। बिना पक्राउ पुर्जी, बिना कारण, एउटा गैरकानुनी राज्यको दृष्टान्त फेरि एकपल्ट सरकारले देखायो।
र मध्यरातमा अर्को नयाँ स्टन्ट सरकारले देखायो,’ उनले भने। दुलालले देश कानुनी राज्यको बाटोमा अघि बढिरहेको छ कि अराजकतातर्फ गइरहेको छ भन्ने प्रश्नसमेत गरे। ‘हामी कानुनी राज्यमा छौँ कि गैरकानुनी राज्यमा ? देश एउटा कानुनी बाटोमा हिँड्दै छ कि अराजकताको बाटोमा हिँड्दै छ? यसको प्रश्नको जवाफ दिनका लागि म सरकारसँग जोडदार माग गर्न चाहन्छु,’ उनले भने।

जबरालाई पक्राउ गरेर करिब १२ घण्टामै छाडिएको प्रसंग उल्लेख गर्दै दुलालले सुरक्षा खतराको आधारमा गरिएको भनिएको कारबाही यति छोटो अवधिमै कसरी अन्त्य भयो भन्ने प्रश्न समेत गरे। उनले सुरक्षा थ्रेट वास्तविक थियो वा त्यसका पछाडि सरकारी निकायको भूमिका थियो भन्नेबारे पनि सरकारले स्पष्ट पार्नुपर्ने बताए। ‘आज पूर्व प्रधानन्यायाधीशलाई पनि त्यसैगरी मध्यरातमै गिरफ्तार गरियो र १२ घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। १२ घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो ? र को हो त्यो सुरक्षा थ्रेट?’ दुलालले प्रश्न गरे।

उनले विगतमा सरकार गठन भएकै दिन मध्यरातमा पूर्वप्रधानमन्त्रीलाई घरमै घेराउ गरेर पक्राउ गरिएको र पछि अदालतले रिहा गरेको प्रसंगसमेत स्मरण गरे। अहिले पूर्वप्रधानन्यायाधीशलाई पनि मध्यरातमा पक्राउ गरिएको भन्दै उनले यस्ता घटनाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको बताए। दुलालले सुरक्षा थ्रेटका नाममा पूर्वप्रधानन्यायाधीश, राजनीतिक नेता वा अन्य व्यक्तिमाथि सरकारी निकायबाटै खतरा सिर्जना गरिएको त होइन भन्ने प्रश्नसमेत उठाए। ‘म भन्न चाहन्छु, कतै सरकारी एजेन्सीकै सुरक्षा थ्रेट त होइन? पूर्व प्रधानन्यायाधीश रहने एजेन्सीहरूलाई अथवा राजनीतिक नेताहरूलाई ? म यो प्रश्न सरकारलाई गर्न चाहन्छु,’ उनले भने।

सरकारले आफूलाई प्राप्त सीमित कार्यकाललाई स्थायी अधिकारजस्तो प्रयोग गर्न नहुने चेतावनी दिँदै दुलालले राज्य सञ्चालनमा विधि, संविधान र कानुनको पालना अनिवार्य रहेको बताए। ‘यो देश हाम्रो पनि हो, सबै नागरिकको हो।
जो सरकारमा आज पाँच वर्षको लाइसेन्स लिएको छ, उसको सदा–सदाको बिर्ता जस्तो तरिकाले यो देश चलाउन पाइँदैन,’ उनले भने। सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै दुलालले ‘के खाएपछि मध्यरातमा जोस आउँछ र मध्याह्नमा होस आउँछ ?’ भन्दै प्रश्न गरे। उनले मध्यरातमा पक्राउ गर्ने र मध्याह्नसम्ममा छाड्ने अवस्थाबारे सरकारले नेपाली जनतालाई जवाफ दिनुपर्ने बताए। ‘के खाएपछि मध्यरातमा जोस आउँछ र मध्याह्नमा होस आउँछ ? सरकारले यसको जवाफ नेपाली जनतालाई दिनुपर्छ। यो देशलाई यस्तो तरिकाले चलाउन मिल्दैन,’ उनले भने।
दुलालले सरकारले यस्ता घटनाबाट पछि हटेर गम्भीरतापूर्वक संवैधानिक र कानुनी बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनले राज्यका निकायले गर्ने हरेक कारबाही कानुनी आधार, प्रक्रिया र संवैधानिक मर्यादाअनुसार हुनुपर्ने माग गरे।