काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन् ।
उनले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन् ।
केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै थापाले महाधिवेशन प्रतिनिधिलाई कुनै पनि भ्रममा नपरी स्वतन्त्र विवेकका आधारमा मतदान गर्न आग्रह गरेका हुन् ।
उनले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वस्थ र मर्यादित बनाउन सबै प्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
‘यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ थापाले स्पष्ट पारेका छन्, ‘मेरो नाम जोडेर आएको सूची भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला। कुनै पनि अफवाहमा नलाग्नुहोला ।’

उनले महाधिवेशन प्रतिनिधिलाई पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न आग्रह गरेका छन् । थापाले मतदान प्रक्रियामा मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन पनि प्रतिनिधिलाई अनुरोध गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको छ । अघिल्लो दिनका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको भन्दै थापाले त्यसबाट महाधिवेशन प्रतिनिधिमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन् । उनले प्रतिनिधिको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
