काठमाडौं । मृत्युदण्डविरुद्धको २४औँ विश्व दिवस आज मनाइँदैछ । मृत्युदण्डविरुद्धको विश्व गठबन्धनको समन्वयमा हरेक वर्ष यो दिवस मनाइन्छ ।
सन् २००३ मा सुरु भएको यो दिवसको यस वर्षको नारा ‘जीवनका कथाहरू’ रहेको छ । सन् २०२६ देखि २०२७ सम्म सञ्चालन हुने अभियानले मृत्युदण्डबाट प्रभावित मानिसहरूको जीवन, अनुभव र उनीहरूका कथालाई प्राथमिकतामा राख्ने उद्देश्य राखेको छ ।
यस दिवसका अवसरमा युरोपेली सङ्घ र युरोपेली परिषद्ले संयुक्त वक्तव्य जारी गर्दै मृत्युदण्ड कायम राखेका देशहरूलाई मृत्युदण्ड कार्यान्वयन तत्काल रोक्न र यसलाई पूर्ण रूपमा अन्त्य गर्ने दिशामा अघि बढ्न आग्रह गरेका छन् ।
मृत्युदण्डविरुद्धको विश्व दिवसले मृत्युदण्डको प्रयोगबारे जनचेतना बढाउने, मानव जीवनको महत्त्व उजागर गर्ने र मृत्युदण्ड उन्मूलनका लागि विश्वव्यापी प्रयासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।
