गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङ नजिकै उड्लुङ खोलाबाट आएको गेग्रानसहितको बाढीले बूढीगण्डकी नदीमा ठूलो क्षति पुर्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज २५ गते आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट ९ जना विदेशी नागरिकसहित ६२ जनालाई नेपाली सेनाका चारवटा हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ खोलाबाट आएको गेग्रानले केही समय नदीको बहाव थुनेपछि बूढीगण्डकीमा ठूलो बाढी आएको प्रारम्भिक विश्लेषण गरिएको छ भने घटनाबारे थप अध्ययन भइरहेको छ । बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतका उड्लुङ निवासी दुई महिला र तीन पुरुष गरी पाँच जना अझै सम्पर्कविहीन छन् । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।
बाढीबाट भएको प्रारम्भिक क्षतिको विवरणअनुसार दुईवटा पक्की पुल, दुईवटा झोलुङ्गे पुल, तीनवटा जलविद्युत् संरचना तथा चारवटा भवनकुण्डमा क्षति पुगेको छ । त्यस्तै, ५४ वटा घर पूर्ण रूपमा र २७ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीले ३४ वटा गोठ, १२ वटा बगर तथा खेतबारी र तीनवटा सवारीसाधनमा समेत क्षति पुर्याएको विवरणमा उल्लेख छ ।

प्राधिकरणले सडक तथा हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पठाएको जनाएको छ । उपलब्ध विवरणअनुसार प्रभावित नागरिकका लागि ५० थान पाल, ५० थान त्रिपाल, २०० थान म्याट्रेस, २०० थान ब्लाङ्केट, २०० थान स्लिपिङ ब्याग, १०० थान सौर्य बत्ती, ५० थान भान्साका सामग्री, १० वटा जेनेरेटर, १३० वटा ज्याकेट, २० वटा सरसफाइ सामग्रीका किट, १० वटा खाद्य सामग्रीका प्याकेट, १० वटा शिशु सामग्रीका प्याकेट र २० वटा रायल ब्याग पठाइएको विवरणमा उल्लेख छ ।

त्यसैगरी, घटनाको अवस्था पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको तीन सदस्यीय टोली परिचालन गरिएको छ । बाढीबाट भएको क्षतिको विवरण अद्यावधिक गर्न तथा आगामी उद्धार र राहतका कामको समीक्षा गर्न विपद् परिचालन टोलीको बैठकसमेत बसेको थियो ।

बाढीको सूचना प्राप्त भएपछि प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका २२१ जना प्रतिकार्यकर्मीलाई तत्काल परिचालनका लागि सन्देश पठाएको जनाएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रबाट बिहान ६ बजे बाढीको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई मोबाइल सन्देशमार्फत पूर्वसूचना दिइएको थियो ।
प्राधिकरणमा बिहानैदेखि विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेर बाढीको अवस्था अनुगमन, क्षतिको विश्लेषण, उद्धार तथा राहतका काममा समन्वय गरिएको थियो । बाढी प्रभावित क्षेत्रमा घाइतेको उपचार तथा स्वास्थ्यसम्बन्धी समस्या व्यवस्थापनका लागि गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली तथा प्रदेश अस्पतालका आकस्मिक चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ ।
त्यस्तै, नेपाली सेनाका १२७ जना, नेपाल प्रहरीका १४३ जना र सशस्त्र प्रहरी बलका ३६ जना गरी ३०६ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको विवरणमा उल्लेख छ । प्राधिकरणले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण, क्षतिको विवरण सङ्कलन तथा थप जोखिम न्यूनीकरणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ ।