सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।
प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो ।
आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरे । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि त्यसयत प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो ।
बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमत भएपछि प्रक्रिया अगाडि बढेको थियो ।
यहाँ बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रहेको छ । सङ्घीय रोयल्टी बाँडफाँटवापत प्राप्त हुने रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने नौ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने छ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट रु ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ ।
