काठमाडौं । यातायात व्यवस्था विभागले यात्रुलाई गुणस्तरहीन खाना दिए कारबाही गर्ने मन्त्रालयको चेतावनी दिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायबीच भएको बैठकपछि यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई यात्रुका लागि खाजा, नास्ता तथा खाना खुवाउन स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्रै रोक्न निर्देशन दिएको छ ।
विभागले सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट जारी खाद्य स्वच्छता स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिनसमेत भनेको छ ।
खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरी उपलब्ध गराइएको खाना खाँदा यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक तथा होटल र रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।
त्यस्तै, खाना तथा खाजाको स्वच्छता र गुणस्तरमा कमी भएको वा मूल्यमा ठगी गरिएको पाइएमा यात्रुहरूले नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गरी गुनासो गर्न सक्नेछन् ।

यात्रुहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सम्बन्धित कार्यालयमा समेत उजुरी गर्न सक्ने विभागले जनाएको छ ।

यात्राका क्रममा यात्रुको स्वास्थ्यमा असर नपर्ने गरी स्वच्छ र सुरक्षित खाना उपलब्ध गराउनुका साथै खानाको मूल्यमा हुने ठगी नियन्त्रण गर्न सम्बन्धित निकायले निगरानी र नियमनलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।
