कैलाली । सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गरेका छन्।
प्रदेश प्रमुख मियाँले प्रदेशसभाबाट पारित बजेटसम्बन्धी दुईवटा विधेयक बुधबार प्रमाणीकरण गरेका हुन्।
प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले आइतबार प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। बजेटमाथिको छलफल र राजनीतिक विवादबीच मंगलबार प्रदेशसभाबाट बजेट पारित भएको थियो।
प्रदेशसभाबाट बजेट पारित भएको भोलिपल्टै प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेका हुन्। योसँगै तीन महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ।

यसअघि बजेटसम्बन्धी अन्योलका कारण साउन १ गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। नयाँ आर्थिक वर्ष सुरु भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना, कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा असर परेको थियो।


