काठमाडौं । नेपालको डिजिटल रेमिटेन्स कम्पनी इसेवा मनी ट्रान्सफरले विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रको कम्पनी भिसासँग रणनीतिक सहकार्य गर्दै भिसा डाइरेक्ट प्लेटफर्म इन्ट्रिग्रेसन गर्ने घोषणा गरेको छ।
यस सहकार्यले विश्वभरका सहभागी भिसा डाइरेक्ट–सक्षम साझेदारमार्फत नेपालमा रेमिटेन्स पठाउने प्रक्रियालाई थप सहज बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
भिसा डाइरेक्ट, भिसाको विश्वव्यापी रकम स्थानान्तरणसम्बन्धी प्लेटफर्म हो, जसले योग्य कारोबारका लागि सहभागी वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत कार्ड, बैंक खाता तथा डिजिटल वालेटमा रकम पठाउन र प्राप्त गर्न सहयोग पुरÞ्याउँछ।
यस प्लेटफर्मको इन्ट्रिग्रेसनले विदेशमा रहेका नेपालीलाई नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तलाई रकम पठाउन थप सहज विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ।
विश्वभर डिजिटल माध्यमबाट हुने अन्तरदेशीय भुक्तानी तथारेमिटेन्स सेवाको प्रयोग बढ्दै गएको सन्दर्भमा यो सहकार्य महत्वपूर्ण मानिएको छ।

अन्तर्राष्ट्रिय भुक्तानी सञ्जाल र नेपालको रेमिटेन्स पूर्वाधारलाई जोड्दै यस सहकार्यले नेपालमा रेमिटेन्स प्राप्त गर्ने विभिन्न माध्यमसम्म ग्राहकको पहुँच विस्तार गर्न सहयोग पुरÞ्याउने बताइएको छ।

यस सहकार्यअन्तर्गत इसेवा मनी ट्रान्सफरले आफ्नो भुक्तानी सञ्जालको उपयोग गर्दै उपलब्ध सेवाअनुसार बैंक खाता तथा इसेवा वालेट मार्फत रेमिटेन्स भुक्तानीलाई सहजीकरण गर्नेछ।

यसबाट नेपालमा रकम प्राप्त गर्ने ग्राहकले उपलब्ध विकल्पमध्ये आफ्नो आवश्यकताअनुसार रकम प्राप्त गर्न सक्नेछन्।

यद्यपि, रकम प्राप्त गर्ने माध्यम सम्बन्धित साझेदार, कारोबारको मार्ग तथा लागू हुने सेवा सर्तअनुसार फरक हुन सक्नेछ।
यस सहकार्यबारे इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ’नेपालीहरूका लागि रेमिटेन्स सेवालाई सरल, छिटो र सहज बनाउनु हाम्रो निरन्तरको उद्देश्य हो।
भिसा डाइरेक्ट सँगको सहकार्यले हाम्रो अन्तर्राष्ट्रिय भुक्तानी सञ्जाललाई थप सुदृढ बनाउनुका साथै नेपालमा रेमिटेन्स प्राप्त गर्ने प्रक्रियालाई अझ सहज बनाउन सहयोग गर्नेछ। विश्वव्यापी भुक्तानी प्रविधि र इसेवा मनी ट्रान्सफरको भुक्तानी सञ्जाललाई इन्ट्रिग्रेसन गर्दै विदेशमा रहनुभएका नेपाली तथा नेपालमा उहाँहरूका परिवारका लागि थप सहज र पहुँचयोग्य रेमिटेन्स सेवा प्रदान गर्ने हाम्रो लक्ष्य छ।’
यो सेवा हाल सहभागी भिसा डाइरेक्ट–सक्षम साझेदारमार्फत नेपालमा रेमिटेन्स पठाउन उपलब्ध गरिएको छ। सेवा उपलब्धता, रकम प्राप्त गर्ने माध्यम तथा कारोबारका सर्तहरू सम्बन्धित साझेदार र लागू हुने व्यवस्थाअनुसार निर्धारण हुने कम्पनीको भनाइ छ।