काठमाडौं । प्रहरी सहायक निरीक्षक ११३औँ समूहले प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ।
‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ नामकरण गरिएको उक्त कोषको रकम समूहका अध्यक्ष निरीक्षक सुरेश कुमार हायुले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्।
‘७१औँ प्रहरी दिवस २०८३’ को अवसरमा आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो। नेपाल प्रहरी सेवामा २०५८ साल असार १ गते प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका प्रहरी कर्मचारीहरूको ११३औँ समूहले सामूहिक भावना, सेवाभाव र भ्रातृत्वलाई थप मजबुत बनाउने उद्देश्यसहित अक्षयकोष स्थापना गरेको जनाएको छ।
नेपाल प्रहरी सेवाका विभिन्न पदमा कार्यरत रहेका तथा विविध कारणले सेवा निवृत्त भएका प्रहरी सहायक निरीक्षकहरू आबद्ध उक्त समूहले नेपाल प्रहरी स्मारक गुठी विधान, २०५१ बमोजिम सञ्चालन हुने गरी अक्षयकोष स्थापना गरेको हो।
अक्षयकोषको मुख्य उद्देश्य प्रहरी कार्यालय सहयोगी पदमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिमध्ये एक जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शिक्षा हासिल गर्न सहजता प्रदान गर्नु रहेको छ।

आर्थिक अभावका कारण शिक्षामा कठिनाइ भोग्नुपर्ने अवस्थालाई कम गर्दै विद्यार्थीको शैक्षिक भविष्यमा सहयोग पुर्याउने लक्ष्यका साथ कोष स्थापना गरिएको हो।

समूहले स्थापना गरेको यस अक्षयकोषले प्रहरी कर्मचारीका सन्ततिहरूको शिक्षामा सहयोग पुर्याउनुका साथै प्रहरी संगठनभित्र आपसी एकता, सहकार्य, सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
