काठमाडौं । भन्सार छली गरी लुकाइछिपाइ राखिएका नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुकाइछिपाइ राखिएका मोबाइलका पार्टपुर्जा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद सामग्रीमा विभिन्न ब्रान्डका मोबाइलका डिस्प्ले तथा बडी प्यानल रहेका छन् । ती सामग्रीको वैध भन्सार कागजात नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा भन्सार छली गरी मोबाइलका पार्टपुर्जा, इलेक्ट्रोनिक सामग्री तथा अन्य सामान भित्र्याउने गतिविधि बढेपछि प्रहरीले निगरानी र गस्तीलाई तीव्र बनाएको छ । बरामद सामग्रीको मूल्याङ्कन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेको जनाएको छ ।
बरामद सामग्री आवश्यक कारबाहीका लागि शुक्रबार भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
