काठमाडौं । भारतमा युवाहरूले गरिरहेको प्रदर्शनकाक्रममा पक्राउ परेकी अखिल भारतीय विद्यार्थी सङ्घ (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरा रिहा भएका छन् । उनलाई हिजो बेलुका दिल्ली प्रहरीले ‘तिरङ्गा मार्च’का क्रममा पक्राउ गरेको थियो ।
बोरालाई प्रहरीले आज रिहा गरेको बीबीसी हिन्दीले जनाएको छ । रिहा भएपछि नेहाले सामाजिक सञ्जाल एक्समार्फत् कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीप्केसहित सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गर्नुभएको छ ।
उहाँले लोकतन्त्र र संविधानका लागि लडेको विषयलाई अपराध बनाउन नहुने बताउनुभएको छ । साथै उहाँले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध महाभियोग लगाउन पनि माग गर्नुभएको छ ।
भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै निरन्तर प्रदर्शन भैरहेको छ । मतदाता नामावली पुनरावलोकनको विषयलाई लिएर पछिल्लो समय विवादसँगै प्रदर्शन पनि चर्किएको छ । विपक्षी दल र आन्दोलनकारी समूहले यो प्रक्रियाले प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुर्याउने आरोप लगाउँदै आएका छन् ।
उनीहरूले निर्वाचन आयुक्तको राजीनामालाई मुख्य माग बनाएका छन् । यद्यपि, भारतको निर्वाचन आयोगले कुनै अनियमितता नभएको दाबी गर्दै आएको छ ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित तथ्याङ्कअनुसार मतदाता नामावली पुनरावलोकनका क्रममा १३ करोड ३० लाखभन्दा बढी मतदाताको नाम हटाइएको छ । तर निर्वाचन अधिकारीहरूले दोहोरो नाम, मृत्यु भएका व्यक्तिको नाम र नक्कली विवरण हटाउने उद्देश्यले प्रक्रिया अघि बढाइएको बताएका छन् ।
