काठमाडौ । ह्विस्कीको स्वाद, सुगन्ध र त्यससँग जोडिएको परिष्कृत आतिथ्यलाई केन्द्रमा राख्दै ‘द गभर्नर्स टेबल’ नामक विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
सागर डिस्टिलरी लिमिटेडको ब्रान्ड ‘द गभर्नर’द्वारा याक एन्ड यतिको डाइनास्टी हलमा बिहीबार आयोजित निमन्त्रणा–आधारित कार्यक्रममा आमन्त्रित पाहुनाहरूले ह्विस्कीका विविध पक्षबारे जानकारी लिनुका साथै विशेष स्वाद अनुभव गर्ने अवसर पाए ।
कार्यक्रम परम्परागत स्वाद चाख्ने सत्रमा मात्र सीमित थिएन । कार्यक्रममा ह्विस्कीको रङ, चरित्र र सुगन्धबारे जानकारी दिँदै हाइल्यान्ड र स्पेसाइड शैलीका माल्टका विशिष्ट सुगन्ध पहिचान गराइएको थियो । त्यसपछि पाहुनाहरूलाई ‘द गभर्नर’लाई निट, अन द रक्स र पानीसँग गरी तीन फरक शैलीमा अनुभव गराइएको थियो ।
ह्विस्कीसँग मिल्ने परिकारहरूको विशेष संयोजनले स्वाद अनुभवलाई थप रोचक बनाएको थियो । औपचारिक स्वाद सत्रपछि ग्रेजिङ टेबल, ककटेल, रात्रिभोज र प्रत्यक्ष गजल प्रस्तुतिसहित कार्यक्रमलाई अनौपचारिक र आत्मीय माहोलमा अगाडि बढाइएको थियो ।
ह्विस्कीलाई केवल पेयका रूपमा नभई स्वाद, सुगन्ध र अनुभवसँग जोडेर प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘द गभर्नर्स टेबल’ले ब्रान्ड अनुभवलाई फरक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको आयोजकले जनाएको छ ।

स्वादको सूक्ष्मता, खानासँगको संयोजन र गुणस्तरीय आतिथ्यलाई एउटै परिवेशमा समेट्दै कार्यक्रम सम्पन्न भएको थियो ।
